पु.समाचार

श्रमिकलाई गाँस, बास र कपासको ब्यवस्था गर्न राप्रपाको माग

१९ बैसाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वका सम्पूर्ण श्रमिक, मजदुरमा सुखी र समृद्ध जीवनको कामना गरेको छ ।

पार्टीका केन्द्रीय सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भास्कर भद्राद्वारा आज जारी विज्ञप्तिमा सुन्दर संसारको निर्माण गर्ने र मानव सभ्यतालाई आजको अवस्थामा ल्याउन उल्लेख्य भूमिका निर्वाह गरेका श्रमिकको जीवन विश्वमा फैलिरहेको कोरोना भाइरसको चपेटामा पर्न गइ अत्यन्त कष्टकर बन्न पुगेको उल्लेख छ ।

सङ्गठित क्षेत्रका तुलनामा असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक मजदुरको स्थिति अत्यन्त दयनीय रहेको उक्त पार्टीले उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, बन्दाबन्दीबाट पहिलो र प्रत्यक्ष असर श्रमिक जनताको जीविकामा परेको छ, श्रमिक वर्गलाई गाँस, बास र कपासको प्रत्याभूति गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।