साहित्य

मेरो शहरमा

-उत्तम सुबेदी                                                                   -कविता

मेरो शहरमा दिनहुुँ बिज्ञपति आउँछ ।
एउटा जमाती राहत एकद्वार हुनुपर्छ भन्छ।
अर्को जमाती आफुले जे गरे नि एक द्वार नै हो भन्छ।
तपाईको चुला बलेको छ ? कस्ले सोधेको छ।
तपाईं कति दिन देखि भोको हुनुहुन्छ ?
कसलाई मतलब छ, कसलाई सोध्ने फुर्सद छ।
मात्र आफ्नो जमातको डम्फू बजाउनु छ।
अरु त नाथे, आफूलाई मसिहा बनाउनुछ।
येस्तै छ मेरो शहरमा राजनीती राहतमा छ ।

मेरो शहरमा दिनहुुँ राहत आउँछ।
कोहि राहतको चामल बाट रक्सी बनाउंछ।
कोहि पिण्डको डल्लो बनाई चढाउंछ ।
तपाईं कार्जेकर्ता हो र ? राहत पाउनुहुन्छ ।
तपाईंको आन्द्रा कति इन्च सुकेको छ ?
कसलाई चासो छ, को संग समय छ ।
मात्र आफ्नो आफ्नो स्वार्थ पूरा गर्नुछ।
अरु मरे के, आफू बांचे भैहाल्छ।
येस्तै छ मेरो शहरमा लाजनीती राहतमा छ ।

मेरो शहरमा दिनहुुँ समचार आउँछ।
पाउने भन्दा बांड्नेको संख्या बढी फेसबुकले देखाउंछ।
कुहिएको चामल दिई गोदाम क्लियर गराउंदा दान्वीर ठहरिन्छ
तपाईको हाल के छ ? कस्ले सोधेको छ।
तपाईंलाई सोध्न अहिले चुनाउ कहाँ आएको छ ?
राहतको लागि दिन तोकी तलब चाहिएको छ।
अरु त के ? आफ्नालाई पुगे भै हाल्छ।
येस्तै छ मेरो शहरमा दाननीती राहतमा छ।

मेरो शहरमा दिनहुं चर्चा परिचर्चा आउँछ।
राहतको पक्ष बिपक्षामा स्टाटस र कमेन्ट छाउंछ।
मेसेन्जरमा घुसी घुसी भिडियोले सचेत बनाउंछ।
तपाईको पेट ले अलिकति भेट्यो ? कस्ले सोधेको छ।
तपाईसंग सोध्नलाई तपाईंको नेट र मोबाईल कहाँ छ ?
अरु त दाम्रे, हन्तकालेलाई पुगे भै हाल्छ।
येस्तै छ मेरो शहरमा रणनीति राहतमा छ।