विचार/ब्लग

लकडाउनमा मेरो साथी मोवाइल र भर्खर किनेको ल्यापटप

सुप्रभ आचार्य /मेरो नाम सुप्रभ आचार्य हो । म सिफल माध्यमिक विद्यालय सिफलमा कक्षा ५ को परिक्षा दिएर नतिजा कुरेर बसेको छु । कोरोनाको कारणले मेरो परिक्षाको नतिजा चैत्र २५ गते हुने भनिएतापनि अहिलेलाई रोकिएको छ । परिक्षा राम्रै गरेकाले परिक्षाको नतिजा नआएपनि कक्षा ६ मा पढ्न पाउने आषामा छु । कोरोना भाइरसले अहिले विश्वमा नै नराम्रो असर परेकाले मलाई विद्यालय जान मन लागे पनि धेरै दुःख भने लागेको छैन किनभने यो कोरोना भाइरसबाट बच्न सामाजिक दुरी राख्नु पर्ने र एकान्तमानै बसेर आफुलाई सुरक्षित राख्नु पर्ने रहेछ भन्ने कुरा मैले विभिन्न मिडियाबाट आएका समाचार सुनेर र पढेर जान्ने भएको छु । यसबाट म यो कोरोना के रहेछ भन्ने बारेमानि निक्कै जान्ने भएको छु ।

मलाई मेरो परिक्षा सकिए पछि मामु–वावाले कतै घुम्न जाउला भन्नु भएको थियो । मेरो बाबा–मामु दुवैजना गैरसरकारी संस्थामा कामगर्ने भएकोले हामीले घुम्नजाने समय पनि पहिले नै योजना नबनाए पाइन्न थियो । प्रायः गरेर मेरो छुट्टी हुँदापनि उँहाहरुको बिदा नमिल्ने हुँदा सधै बाहिर घुम्न जाने सम्भावना कम नै हुन्थ्यो । यस्तो बेलामा मलाई कहिलेकाँही मामाघर जाने र अरुबेला भने घरमा नै समय विताउने बानी परिसकेको छ । बावा–मामुको समय मिलेका बेलाभने हामी काठमाण्डौ, भक्तपुरनजिकैका रमणिय ठाँउमाघुम्न जाने योजना बनाएका थियौं । तर यो लकडाउनको कारणले मेरो यो पटकको बार्षिक बिदाभने अलिक फरक तरिकाले बितिरहको छ ।

मैले थाहा पाउँदा देखि म मेरो बाबामामुसँग मेरो विद्यालय छुटी भएको समयमासँगै बसेको यो मेरो पहिलो अनुभव हो । कोरोनाका कारण मेरो विद्यालय चैत्रको ५ गते देखि नै बन्द भएको थियो भने मामु बावापनि चैत्र १० गतेदेखि नै कार्यालयको काम घरबाट नै गरिरहनु भएको छ । म उँहाहरु सँगै दिन भरि बस्न पाएको छु, कतैकतै म खुशी पनि छु । कार्यालय नगएपनि २१ औं शताब्दीको बिकसित संचार प्रविधिका कारण यो बन्दाबन्दीमापनि बाबामामु दुवैजना घरबाट नै अफिसको कार्य गरि रहनु भएकोले विहानको ९ः०० बजे देखि बेलुकाको ५ः०० बजे सम्म वहाँहरु आफ्नो काममा नै व्यस्त नै हुनुहुन्छ । घरमा हामी सँगै भएपनि मलाइ दिन कटाउन चै अल्ली हैरान नै हुन्छ । धन्य बाबाको मोवाइल र भर्खर किनेको ल्यापटप भएकोले मेरो भरपुर समय युट्युवमा भएका भिडियो र मोवाइल एप्समा आउने सामाग्री हेरेर बित्ने गरेकाछन् । यो बाहेक बाबामामुले सुन्ने पढ्ने र हर्ने विभिन्न अनलाइनखवरका कुराको छलफल गरेको छु । उँहाहरु घरी आर्थिक मन्दी र संकटको कुरा गर्नु हुन्छ । घरी रोजगार र रेमिटान्सका कुरा गर्नुहुन्छ । म ती कुराहरु अलि कम बुझ्ने गर्छु त्यसैले मोरे मोवाईल हेर्ने बाहेकमा अलि कमै धयान जान्छ ।

कतिपय समयमा मलाई पनि यस्ता कुरा हेर्न पढ्न र वुझ्न बुबामामु सुझाउनु हुन्छ । बिहान उठेदेखि म प्रायःमोवाइल र कम्युटरमा नै ब्यस्त हुने भएकाले यस्ता जानकारीमुलक कुरा हेर भन्ने उँहाहरुको सुझाव दिनु हुन्छ । दिनभरी मोवाईल र ल्यापटपमा धेरै लामोसमय बिताउँदा हामीलाई हानी पुर्याउछ भन्ने कुरा थाहा हुँदा हुंदै पनि बाहिर जान नपाइने भएकाले अहिले यिनै कुरा मेरा साथी भएका छन् । बाबामामुले गरेका कुरा सुन्दा मलाइ लाग्छ अब मेरो देश लगायत संसारमा नै धेरै कुराको अभाव हुनेछ । मानीसहरु काम नपाएर दिन चलाउन समस्यामा पर्नेछन् । मेरो देशमा आम्दानीको स्रोतका लागि थोरैमात्र उपायहरु छन् । अबका दिन कसरी बित्ने होलान् भन्ने कुरा मलाई पनि लाग्न थालेको छ ।

मेरो बाबा यो बन्दका समयमा बिहान र बेलुका प्रायः गरेर घरको छतमा गएर यताउती हेर्नुहुन्छ र कहिलेकाँही नजीकैको मनोहरा र हनुमन्तेको दोभानमा हिँड्हुल गएर एकछिन बस्नु हुन्छ । मलाइ भने यस्तो बेलामा बाहिर गएको मन पर्दैन र बावालाई घरमा नै बस्न अनुरोध गर्दछु । एक दिन बाबा छतमा गएर के गर्नु हुने रहेछ भनेर मलाई पनि सँगै जान मन लाग्यो र गएँ र बाबालाई दिनदिनै के हेर्नु हुन्छ भनि सोधे । उहाँले मलाइ छतबाट चारैतीर हेर्न भन्नुभयो । मैले यो अघि यसरी घरको छतबाट काठमाण्डौको सौन्दर्यता नियालेको थिइन । सधै धुलो धुवाँले आकास ढाकेको हुन्थ्यो तर त्यो दिनभने मैले वरिपरिको दृष्य अतिमनमोहक देखेँ । बेलुका भएपनि खुलेको निलो आकास, उत्तरतर्फ सेत्तै हिमाल, हरियो फुल्चोकी डाँडा तथा चन्द्रगीरी, गोदावरी नगरपालिकामा पर्ने सन्तानेश्वर मन्दिर, भक्तपुरको पाइलट बाबाधाम बाबाको सहयोगबाट देखेँ । यस्तो रमाइलो दृष्य देखेपछि मैले काठमाण्डौको वरिपरि त कति राम्रो रहेछ भनि बाबालाई भने । बाबाले पनि यो सवै धुलो धुवाँ, प्रदुषणले गर्दा यस्ता राम्रा दृष्य देख्न नपाइएको र स्वच्छ हावा लिन नपाएको गुनासो गर्नुभयो । उहाँले त्यसपछि मलाई नेपाल र नेपालको सौन्दर्यतका बारेमा सुनाउन थाल्नुभयो । हुन पनि वहाँ पुर्व देखि पश्चिम सम्म नेपालका ५५ जिल्लापुग्नु भएको बताउँनुहुन्छ ।

-नेपाली टोपीमा सुप्रभ

मेरो देश नेपाल हो । यहाँ विभिन्न भाषा, जात, धर्म, लिंग र भेषभूषा लगाउने मानिसहरुको बसोवास छ । नेपाललाई भूगोलका आधारमा तीन तहमा विभाजन गरिएको छ । हिमाल पहाड र तराई गरि तीन भागमा विभाजित नेपाल यी तीनै आ–आफना विषेशता छ । हिमालमा ठुल्ठुला विश्वप्रख्यात हिमाल सगरमाथा, कंचनजंघा, गणेश, आदि हिमालहरु छन् । विश्वमा नेपाल भनेर नचिन्नेहरु पनि सगरमाथा भएको देशको मान्छे भन्दा सवैले चिन्छन् । तसर्थ मलाई मेरोदेश नेपाल भन्न गर्भ लाग्छ । त्यस्तैगरि पहाडमा विभिन्न प्रकारका लेक, बेशी, प्रशिद्ध धार्मिक स्थल पाथिभरा, मनकामाना, पसुपतीनाथ, हलेसी जस्ता विश्व प्रसिद्ध धार्मिक स्थलहरु छन् । त्यसैगरि तराईमा विश्वका प्रख्यात शान्तिका अग्रदुत गौतमबुद्ध को जन्मस्थान लुम्बिनी छ । जनकपुरमा रहेको रामजानकी मन्दिरपनि तराइमा पर्दछ । नेपाललाइ विभिन्न प्रकारका विशेषताहरुले चिन्ने गरिन्छ । नेपालमा तराइ पहाड र हिमाल तीन भागमा हरियो वनले ढाकेको छ । यी वनमा विभिन्न प्रकारका लोप हुन लागेका एकसिंगे गैडा, देखि रातो हाव्रे सम्मका जंगली जनावरहरु पाइन्छ । विभिन्न जात धर्म मान्ने मानिस बसेपनि यी जातजाती बिच मेल मिलाप छ । कुनै प्रकारको जातीय युद्ध हुदैन । त्यस कारण पनि नेपाल विश्वमा प्रख्यात छ । त्यसकारण नेपाललाइ कसैले पनि अरुकुनै देशले राज्य नगरेको देश मध्ये पर्दछ ।

नेपालको राष्ट्रिय फूल लाली गुराँस हो । नेपालमा तीस भन्दापनि बढि प्रकारका लालि गुराँसहरु पाइन्छन् । नेपालमा तीन रंगका लालि गुराँस पाइन्छ । नेपालको जति तल लालि गुराँस फूल्छ त्यो रातो रंगको हुन्छ र यदित्यो भन्दा माथिको उचाइमा नीलो रंगको लालिगुराँस फूलेका छ भने त्यो भन्दामाथिको उचाइमा सेतो रंगको लालीगुराँस पाइन्छ । यसरि प्राकृतिक रुपमा धनी मेरो देश नेपालमा विश्वका मानिसहरु अवलोकन तथा मनोंजनका लागि आउने गर्दछन् । नेपाल सरकारले सन २०२० लाइ नेपाल भ्रमण बर्ष घोषणा गरि विभिन्न कार्यक्रमहरु ग्रि पर्यटकहरुलाई आकर्षित गरिरहेका अवस्थामा सन २०१९ को डिसेम्बरमा चिनको वुहान शहरबाट सुरु भएको कोरोनाभाइरस बिश्वव्यापि रुपमा फैलनगइ विश्वका २०० भन्दा बढि देशमा महामारिका रुपमा फैलिएको, १६ लाख भन्दा मानिसहरु कोरोनाका कारण विरामी भएको एक लाखभन्दा बढि मानिसहरुले ज्यान गुमाएका कारण सवै देशका सरकारहरु आफना देशका नागरिकहरुलाई कसरी सुरक्षित राख्ने र कोरोनाको संक्रमणबाट बच्ने भन्ने बारेमा काम गरिरहेका छन् ।

(लेखनमा प्रतिभाशाली आचार्य कक्षा ६ मा अध्ययनरत छन् ।)