पु.समाचार

सताउन्न हजारको कोभिड–१९ परीक्षण– स्वास्थ्य मन्त्रालय

१७ बैसाख, काठमाडौं । अहिलेसम्म कोभिड–१९ को परीक्षण ५७ हजार १८९ मा गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा विकास देवकोटाले पिसिआरबाट ११ हजार ५२४ र ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)बाट ४५ हजार ६६५ मा परीक्षण गरिएको जानकारी दिए ।

उनका अनुसार विगत २४ घण्टामा दुई हजार ३६७ को कोभिड–१९ परीक्षण गरिएको छ । प्रदेश नं १ मा चार हजार ८४१, प्रदेश नं २ मा पाँच हजार २९८, वाग्मती प्रदेशमा आठ हजार २१७, गण्डकी प्रदेशमा पाँच हजार ३४३, प्रदेश नं ५ मा तीन हजार ६७१, कर्णाली प्रदेशमा पाँच हजार २६९ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ९८६ को परीक्षण गरिएको छ ।

यसैगरी २२ हजार ९०१ जना क्वारेन्टाइनमा बसेका छन् । मन्त्रालयका प्रवक्ता डा देवकोटाका अनुसार प्रदेश नं १ मा दुई हजार ४७८, प्रदेश नं २ मा एक हजार ४०४, वाग्मती प्रदेशमा ६११, गण्डकी प्रदेशमा ६९४, प्रदेश नं ५ मा १२ हजार ५१५, कर्णाली प्रदेशमा तीन हजार ९६३ र सुदूरपश्चिम प्रदेशमा एक हजार २३६ जना क्वारेन्टाइनमा बसेका छन् ।

यसैगरी टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा नयाँ तीन जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पर्साका ४६ र बाराका ४३ र ३१ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितको अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । अहिले ४१ जना उपचाररत रहेका छन् ।

यसभन्दा अगाडि एकजनाको सङ्क्रमण देखिएको भनिएको ती पुराना सङ्क्रमण नै रहेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । “ती पुराना बिरामी हुन् । उनको आज परीक्षणको क्रममा पोजेटिभ देखिएको मात्र हो”, उनले भने, “त्यसैले आज तीन जनामा मात्र सङ्क्रमण देखिएको हो ।”

यसैगरी ८७ जना आइसोलेशनमा रहेका छन् भने स्वपरीक्षण गर्दा आज एक जना गरी अहिलेसम्म ३१० जना ‘रेड जोन’मा रहेका छन् । यसैगरी मन्त्रालयले कोभिड–१९ को उपचार घरमा गर्नका लागि आयुर्वेदिक तथा वैकल्पिक चिकित्सासम्बन्धी निर्देशिका जारी गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिए । निर्देशिका जारीसँगै अब कोभिड–१९ सँग लड्ने क्षमता बढाउन घरेलु आयुर्वेदिक औषधि प्रयोग गर्न सकिने उनले बताए ।