पु.समाचार

एनआरएनएले वाइडबडी जहाज चार्टर गरेर कोरिया पठाउने

१७ बैसाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ । इपिएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि नेपालमै अलपत्र परेकालाई गन्तव्यमा पु¥याउन एनआरएनले जहाज चार्टर गर्न लागेको हो ।
एनआरएनका अध्यक्ष तथा एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार प्रवेशाज्ञासहित सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर नेपालमा रोकिएका एक हजार तीन जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पु¥याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चार्टर गर्ने प्रक्रिया संस्थाले अघि बढाएको हो ।
वाइडबडी जहाज कोरिया पठाउन निगमसँग आवश्यक कानूनी प्रक्रिया पूरा भइसकेको जनाइएको छ । एनआरएनका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार संस्थाले पहिलो चरणमा रु १० लाख धरौटीसहित आज प्रारम्भिक सम्झौता गरेको छ । विमान चार्टर गर्न रु दुई करोडको ग्यारेन्टी बस्न एनआरएनले तयारी गरेको एनआरएन, कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।
अन्तर्राष्ट्रिय उडानसम्बन्धी सम्पूर्ण प्रक्रिया र श्रमिकको स्वास्थ्य परीक्षणको काम पूरा भए अर्को साताभित्रै निगमको वाइडबडी जहाज नेपाली श्रमिक बोकेर दक्षिण कोरिया उड्ने श्रेष्ठले बताए ।

गत आइतबार मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि त्यता जान नपाएका नेपाली श्रमिकलाई दक्षिण कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो । अध्यक्ष पन्तले कोरियामा रहेका नेपालीलाई नेपाल फर्काउनका लागि वातावरण बनाउन नेपाल सरकारसँग आग्रह गरिएको तथा यसबारे नेपाल सरकारसँग छलफल भइरहेको जानकारी दिए ।

यसैबीच विदेशमा कोभिड–१९ ले प्रभावित नेपालीलाई स्वदेश फर्काउन एनआरएन र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच सोमबार छलफल भएको थियो । बैठकमा एनआरएनका तर्फबाट उपाध्यक्ष डा बद्री केसीले विदेशमा अलपत्र चार लाखभन्दा बढी नेपाली तत्काल स्वदेश फर्कन चाहेको जानकारी दिँदै फर्किने वातावारण तयार गर्न मन्त्री ज्ञवालीसमक्ष आग्रह गरेका थिए ।

एनआरएनका १५ देशका राष्ट्रिय अध्यक्षसम्मिलित छलफलमा अधिकांशले नेपाल फर्किन र राहतका बारेमा आआफ्ना धारणा राखेका थिए ।