अन्तर्राष्ट्रिय

लालु यादवका छोरा भन्छन् मेरो बुवालाई कोरोना संक्रमणको खतरा

१७ बैसाख, काठमाडौं । राष्ट्रिय जनता दल (आरजेडी) नेता तेजस्वी यादवले आफ्ना पिता तथा बिहारका पूर्व मुख्यमन्त्री लालु यादवलाई कोरोना सङ्क्रमणको खतरा भएको भन्दै सरकारलाई विशेष स्वास्थ्य निगरानीका लागि ध्यानाकर्षण गराएका छन् ।

आरजेडीका नेता तथा यादवका छोरा तेजस्वीले ट्वीटर सन्देशमा लेखेका छन्, “पूर्व मुख्यमन्त्री तथा हाम्रा पिता यादवलाई उपचारमा सम्लग्न चिकित्सकलाई पनि कोभिड–१९ को सङ्क्रमण भएको हुनसक्ने खबरले हामीलाई चिन्ता लागेको छ । यो मेरो आवाज १२ करोड बिहारी जनताको चासोसँग जोडिएको छ । बहत्तर बर्षीय यादवले पूराना धेरै जटिल रोगहरूको उपचार र औषधि सेवन गरिरहनुभएको छ र उहाँलाई कोरोनाभाइरस सङ्क्रमणको अत्यधिक खतरा छ । त्यसैले उहाँको स्वास्थ्यप्रति अत्यन्त गम्भीर हुन जरूरी हुनेछ ।”

पूर्व मुख्यमन्त्री यादवको उपचार भइरहेको राँचीस्थित ‘राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (रिम्स)’ को एक कक्षमा रहेका अर्का एक विरामीमा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएपछि आरजेडी नेता तेजस्वीले पूर्व मुख्यमन्त्रीको उपचारमा सावधानी उपनाउन ट्वीट्मार्फत् आह्वान गरेका हुन् ।

“रिम्सको चिकित्सा विभागमा विगत तीन हप्तादेखि उपचाररत एक विरामीमा मङ्गलबार कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ती विरामीको उपचारमा चिकित्सक उमेशप्रसाद सम्लग्न रहेको र उहाँले पूर्व मुख्यमन्त्री यादवलाई पनि हेरिरहनुभएको छ ।”

तर रिम्स अस्पताल प्रशासनले भने लालुलाई ‘पेइङ वार्ड’मा भर्ना गरिएको बताएको छ ।

अस्पतालले थप जानकारी गराएको छ, “कोभिड–१९ सङ्क्रमित विरामी सामान्य चिकित्सा कक्षमा विगत तीन हप्तादेखि उपचाररत थिए । सबै चिकित्सक, नर्स तथा अन्य कर्मचारीको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ । उमेशप्रसाद र उहाँको कक्षका स्वास्थ्यकर्मीलाई तत्काल क्वारेन्टिनमा पठाइनेछ ।”

भ्रष्टाचार आरोपमा झारखण्डमा जेल जीवन बिताइरहेका बिहारका पूर्व मूख्यमन्त्री लालु यादवले सजायको धेरै हिस्सा रिम्स अस्पतालमा उपचारका सन्दर्भमा वितेको छ ।