साहित्य

स्वतन्त्रताको श्रीपेच भिरेर

-डा सुरेन्द्र सिटौला                                                                         -कविता

सत्ता !
अस्ति पनि उस्तै हो
हिजो पनि त्यस्तै हो
अधिकाङ्श सत्ता
अस्तिको जस्तै हो

गजब छ सत्ताको संसार
हिजो माहाभारत हुँदै थियो
हस्तिनापुर रुदै थियो
रक्त पिपासु सत्ता
कुरुक्षेत्रमा रगत बगाउदै थियो
शकुनिहरु रमाउदै थिए
भीष्म सत्यको विवेक
रगत सगै बगाउदै थिए
सत्ता न हो !
मान्छे मार्नु भन्दा पहिले
कृष्ण अर्जुनलाई
ज्ञान मुक्ति र विवेकको
गीता पढाउदै थिए

हिजो रोम जल्दै थियो
सम्राट नेरो रमाउदै थियो
सत्ता नया सपना सजाउदै थियो
रोमनहरुको सुस्केरा
चित्कारको जुलुसमा हराउदै थियो
आखिर सत्ता न हो
उ आफै भित्र रमाउदै थियो
ठाउँ ठाउको सत्ता
उस्तै उस्तै हो
उ आगोको फुल जस्तै हो
उ मात्तियो भने
आफू सगै देश जलाउछ
पालो गर्दै नया सत्ता
फेरि मखुण्डो भिरेर आउँछ

सत्ताको मोहनी
अस्ति बिश्व युद्ध लडाउदै थियो
लाखौ यहुदी हरुको चिहानमा
सत्ताको उन्माद रमाउदै थियो
उसको अभिमान
रगतको चुस्किमा मात्तिएर
बिजयी गीत गाउदै थियो
अनायास उसको अवसानमा
अर्को निर्लज्ज सत्ता
मानव मुक्तिको गीत गाउदै
यतै कतै आउदै थियो
कुटिल सत्ता !
स्वतन्त्रताको श्रीपेच भिरेर
बिश्वलाई उपनिवेश बनाउदै थियो
आखिर सत्ता न हो !
उसको मुल स्वरुप अविनाशी छ
उ सधै भाग्यमानी छ

सत्ता कतै धर्म लडाउछ
कतै अर्थ खन्याउछ
सत्ता आफ्नो स्वामित्वमा
मलाइ गुलाम बनाउछ
सत्ताको कुटिल मन्त्रले
मानबता सधै रुवाउछ
पटक पटक स्वरुप फेर्दै
हाम्रै कोठेबारीमा
सत्ता बेरोकटोक
आफ्नौ घोडा कुदाउछ !!