पु.समाचार

रौतहटमा देखियो दुई व्यक्तिमा कोरोनाः संक्रमीतको संख्या ५४ पुग्यो

१६ बैशाख काठमाडौं । नेपालमा फेरी २ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटमा आज बिहानै थप दुईमा कोरोना संक्रमण पुष्टि भएको छ । वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । दुबैको काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

वृन्दावन नगरपालिका भुसहाका २५ वर्षका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए । जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि ती युवकको खोजी सुरु भएको छ । त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष हाल क्वारेन्टाइनमै रहेका छन् ।

काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो संगै नेपालमा कोरोना संक्रमीतको संख्या ५४ पुगेको छ ।