पु.समाचार

नेकपाले बोलायो सचिवालय बैठकः पार्टीमा पछिल्लो अन्तरबिरोध समाधान गर्न छलफल गरिने

१६ बैशाख काठमाडौं । सत्तारुढ दल नेपाल कमयुनिष्ट पार्टी नेकपाले आज सचिवालय बैठक बोलाएको छ । पार्टी भित्रको पछिल्लो अन्तरविरोध समाधानका लागि नेकपाका नेताहरूबीच आज मंगलबार सचिवालय बैठक बोलाएर छलफल गर्ने सहमति भएको छ ।

कोटेश्वर छलफलअघि बालुवाटारमा प्रधानमन्त्री ओली र नेपाल, खुमल्टारमा अध्यक्ष प्रचण्ड र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतमबीच भएको बेग्लाबेग्लै सहमतिपछि मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

ओलीसँगको छलफलमा नेता नेपालले अहिले उठेका सबै विषय बैठकमार्फत हल गर्ने प्रयास नभए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । लगत्तै ओली समूह र नेपाल समूहका नेताहरूबीच संवाद चलिरहँदा अध्यक्ष प्रचण्डले पालैपालो खुमलटारमा खनाल र गौतमसँग छलफल गरेका थिए ।

प्रचण्डसँगको छलफलपछि वरिष्ठ नेता नेपालले पार्टी एकतालाई मजबुत बनाउन तत्काल स्थायी समिति बैठक बोलाउन माग गर्ने सहमति भएको बताए । दुई नेताबीचको दुई घन्टा लामोे छलफलमा सरकारले अध्यादेश ल्याएपछि पार्टीभित्र उत्पन्न समस्याबारे समेत समीक्षा भएको थियो ।

त्यस्तै, प्रचण्डसँगको भेटलगत्तै उपाध्यक्ष गौतमले वरिष्ठ नेता नेपालसँग बैठकका विषयमा केन्द्रित रहेर टेलिफोन संवाद गरेका थिए ।