पु.समाचार

काँग्रेससहित तीन दलको बैठकः सरकारको गलत कदमबिरुद्ध एक भई संघर्ष गर्ने प्रतिवद्धता

१५ बैसाख, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेस तथा विपक्षी जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले सङ्घीय सांसद डा सुरेन्द्र यादव अपहृत भनिएको प्रकरणमा कानूनी कारवाही अगाडि बढाउन माग गरेका छन् ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ती दलका शीर्ष नेताको बैठकले सो विषयमा तत्काल कानूनी कारवाही अगाडि बढाउन माग गर्ने निर्णय गरेको हो । बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवा, जसपाका उपेन्द्र यादव र शरत्सिंह भण्डारी तथा राप्रपाका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गरी ‘स्वेच्छाचारी प्रवृत्ति’विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति एकबद्ध भई संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बैठकले कोरोना भाइरसको सङ्क्रमण सन्दर्भमा गरिएको लकडाउन अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्न तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव न्यून गर्नका लागि तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गरेको छ । साथै कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक जाँचलाई तीव्रता दिन बैठकले माग गरेको छ ।

बैठकमा काँग्रेसबाट सभापति देउवा एवं नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा शशांक कोइराला, पूर्णबहादुर खड्का, डा प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी, जसपाबाट महन्थ ठाकुर, डा बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, भण्डारी, अशोककुमार राई र राजेन्द्रप्रसाद श्रेष्ठ तथा राप्रपाबाट अध्यक्ष डा लोहनी उपस्थित थिए ।

बैठकका निम्न लिखित निर्णयः

(१) लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ । हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

(२) सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा। सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् । यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गर्दछ ।

(३) कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन सकेको छैन । यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ । साथै, कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन यो बैठक माग गर्दछ ।