कृषि

गाउँकै खाद्यान्न, तरकारी र मासुको प्रयोग गर्ने नीति

१५ वैशाख, मेलम्ची । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण फैलन नदिन खाद्य वस्तुको आपूर्ति सकभर बाहिरबाट नगर्ने रणनीति बनाएको छ ।

खाद्यवस्तु आयात गर्दा रोग भित्रन सक्ने भन्दै गाउँपालिकाले गाउँकै खाद्यान्न, तरकारी र मासुको प्रयोग गर्ने नीति बनाएको हो । स्थानीय उत्पादनलाई परिचालन गरी खाद्यान्न परिपूर्ति गर्ने योजनाअनुसार बाहिरको खाद्यान्न प्रवेशमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

स्थानीयवासीले खाद्य तथा मासुजन्य सामग्री भित्रिँदा जोखिम बढ्ने बताएपछि यस्तो निर्णय गरेको उनले बताए। बस्तीबस्ती छिर्ने सडक र गोरेटोमा पनि निगरानी बढाएको उनले बताए । “बाहिरबाट आउनेलाई विशेष निगरानीमा राखिएको छ”, अध्यक्ष लामाले भने, “विदेशबाट गाउँपालिका भित्रने प्रत्येकको घरमा पुगेर स्वास्थ्य जाँच गरिएको छ ।” उनले दीर्घरोगीलाई घरघरमा औषधि पु¥याउने काम गाउँपालिकाले शुरु गरेको पनि उल्लेख गरे ।

स्थानीयस्तरमा २० श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । तर त्यहाँ अहिलेसम्म कोही बसेका छैनन् । तिपेनीको क्षेत्रपालेश्वरीमा २० श्ययाको क्वारेन्टाइन निर्माण गरे तापनि गापाले क्षेत्रीय क्वारेन्टाइनलाई विशेष प्राथमिकता दिएको छ । सुरक्षा, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीको हिसाबले मेलम्चीमा बन्ने क्षेत्रीय क्वारेन्टाइन नै उपयुक्त हुने उनको विश्वास छ ।

विपद् परास्त गर्न सबै मिलेर लड्नुपर्ने भएकाले राजनीतिक दलबीच पनि सहकार्य जरुरी रहेको उनले बताए । सचेतना कार्यक्रम चलाउँदै फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मीको परिचालनलाई विशेष प्राथमिकतामा राखेको छ । स्वास्थ्य चौकी छेउछाउको चोकचोकमा औषधि छर्किएको छ । गापाभित्र आठ वटा स्वास्थ्य चौकी, छ वटा बर्थिङ सेन्टर, दुई वटा स्वास्थ्य युनिट र मानेखर्कमा चिकित्सकसहितको स्वास्थ्य संस्थाले अहोरात्र काम गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ठूलो सङ्ख्यामा सडक र खानेपानीमा काम गर्न बाहिरबाट आएका १५० मजदूरलाई घर फर्काइएको छ । बाँकीलाई तथ्याङ्क सङ्कलन गरेर खाद्य सामग्रीको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।

खान नपाउने नपुग्ने नागरिकको तथ्याङ्क सङ्कलन भइरहेको उनले बताए । तथ्याङ्क आएपछि उनीहरुलाई राहत दिने तयारीमा जुटेको अध्यक्ष लामाले बताए । विपद् व्यवस्थापन कोषको आकार बढाउन खोजिएको उनले बताए । अन्य शीर्षकबाट केही रकम रकमान्तर गरी कोरोना सङ्क्रमण नियन्त्रण र राहत व्यवस्थापन गर्ने उनले बताए ।

गर्भवती र दीर्घरोगीलाई असहज हुन नदिन उनीहरुको तथ्याङ्क सङ्कलन गरी आवश्यक परे उद्धारका लागि तयारी अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ । दीर्घरोगीको औषधि व्यवस्थापन र वितरण शुरु गरिएको छ । उनले प्रत्येक नागरिकको स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाउन केन्द्र सरकारलाई सुझाएका छन् । “शिक्षा र स्वास्थ्यलाई सामान्यीकरण गर्न यो जरुरी छ”, अध्यक्ष लामाले भने ।