आर्थिक

नेपाल राष्ट्र बैंकले मनायो ६५औँ वार्षिकोत्सव

१४ बैसाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आफ्नो स्थापनाको ६५औँ वार्षिकोत्सव मनाएको छ । लकडाउनका कारण सार्वजनिक रुपमा कुनै औपचारिक कार्यक्रम नगरिएको भए पनि बैंकले आन्तरिक रुपमा नै आफ्नो वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवका अवसरमा बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक लिखित मन्तव्यसमेत सार्वजनिक गर्दै कोरोनाका कारण परेको प्रभावका बारेमा बैंकले दिने योगदानका बारेमा जानकारी दिएका छन् । कोभिड–१९ को सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विगतका वर्षहरूमा झैँ औपचारिक रूपमा वार्षिकोत्सव समारोह आयोजना गर्न नसकिएता पनि वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्ने तथा बैंकको कामकारवाहीमा सहयोग पु¥याउने शुभेच्छुकप्रति केन्द्रीय बैंकले कृतज्ञता ज्ञापन गरेको छ ।

कोभिड–१९ को प्रकोपका कारण अर्थतन्त्रमा सिर्जना भएको प्रतिकूलतालाई सम्बोधन गर्दै अर्थतन्त्रलाई विस्तार र स्थायित्वको मार्गमा अगाडि बढाउन बैंकले समसामयिक रूपमा नीतिगत पहलकदमी लिँदै आएको जनाइएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न गभर्नर अधिकारीले वार्षिकोत्सवको उपलक्ष्यमा दिएको मन्तव्यमा चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने उल्लेख गरेका छन् ।

यस्तै कोरोनाबाट बढी प्रभावित क्षेत्रलाई चालू पूँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउने व्यवस्था गरिएको छ । यसैगरी साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनः कर्जा सहज ढङ्गले प्रवाह गरिने बैंकले जनाएको छ । त्यसका लागि पुनः कर्जा कार्यविधिमा संशोधन गरी कोष रु ६० अर्बको बनाइएको छ ।

उक्त कोषलाई आवश्यकताअनुसार क्रमशः वृद्धि गर्दै लैजाने बैंकको योजना रहेको छ । बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने जानकारी दिँदै बैंकले बढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनः तालिकीकरण वा पुनःसंरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइएको छ । त्यस्तै लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्ने व्यवस्थासमेत मिलाइएको छ ।