राजनीति

छलफलको निष्कर्ष: परिक्षण समुदाय स्तरसम्म पुर्‍याउनु अनिवार्य (७ बुंदासहित)

१४ बैसाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निमन्त्रणामा आज पार्टी पदाधिकारी, पूर्व स्वास्थ मन्त्रीहरु एवं स्वास्थ्य क्षेत्रका बिज्ञहरु बीच महत्त्वपूर्ण बैठक सम्पन्न गरेका छन् । कोरोना भाइरसबाट नेपाल र नेपालीको रक्षा गर्ने सन्दर्भमा हालसम्म भएका कार्यहरु बारे गहिरो समिक्षा र अहिलेको मितिमा अनिवार्य रुपले गरिनुपर्ने कार्यहरू बारे बैठकमा बिशेष छलफल भएको काँग्रेस मुख्यसचिव कृष्णचन्द्र पौडेलले बताएका छन् ।

बैठकको सभापति देउवाले पर्याप्त सुरक्षा सामग्री अभावका विच देशभरी कार्य गरिरहनु भएका स्वास्थकर्मि, सुरक्षाकर्मी र संचारकर्मीहरुको प्रशंसा गर्दै कोरोनालाई स्वास्थकर्मीकै नेतृत्व र सुरक्षाकर्मिको समन्वयमा परास्त गर्नुपर्ने धारणा राखेका थिए ।

छलफलका क्रममा आएका महत्त्वपूर्ण विचार र सुझाव उपर नेपाल सरकारको ध्यानाकर्षण गराउंदै कार्यान्वयनका लागि नेपाली कांग्रेसको उक्त बैठकले यस्ता ७ बुंदे निर्णयहरु गरेको छः

१, लक डाउनले कोरोनासंग जुध्न वातावरण निस्चयनै निर्माण गर्‍यो तर लक डाउनको उपयोग गरेर कोरोनाको जोखिम सामना गर्ने अन्य रणनीति निर्माण र कार्यान्वयनमा सरकार अयोग्य र सुस्त देखिएको छ िसरकारले आवश्यक गति बढाउनु पर्छ ।

२, परिक्षण समुदाय स्तरसम्म पुर्‍याउनु पर्ने अनिवार्य आवश्यकता छ तर र्‍यापिड टेस्टको विश्वसनीयतामा विश्वब्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनु पर्छ र पिसिआर कै क्षमता र दायरा बढाइनु पर्दछ ।

३, स्वास्थकर्मिहरुलाई पर्याप्त पिपीई लगायतका सामग्री अझैपनि नपुगेको स्थिती छ । यतिको समय ब्यतित हुंदापनि अझै सामग्री पर्याप्त नहुंदा स्वास्थकर्मिहरु जोखिमपुर्ण ढंगले कार्य गरिरहेका छन् । तत्काल गुणस्तरीय सामग्री पुर्‍याएर सरकारले कोरोना विरुद्धको संघर्षलाई प्रभावकारी तुल्याउन जरुरी छ ।
४, कतिपय बेला स्वास्थकर्मीहरुलाई हतोत्साहित गर्ने र गरिएका जे जस्ता घटना भएका छन् त्यसलाई गम्भीरतापुर्वक लिंदै यस्ता घटना देशभर कहिँपनि हुन नदिन सतर्कता र गम्भीरता जरुरी छ ।

५, अस्पतालहरुको हालको क्षमताको एकातर्फ अधिकतम उपयोग, अर्कातर्फ संक्रमितको संख्या बढ्नुसंगै जनशक्ति र उपकरणहरुको वृद्धिमा गति बढाउन जरुरी छ ।
६, अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउनु पर्दछ । उपचार कठिनाइ संगै अत्यावश्यक औषधिहरुको अभाव हुँदै जांदा त्यसले नयाँ जोखिम उत्पन्न गर्नेछ, अत औसधि उत्पादन र आयातमा समयमै सचेत रहन जरुरी छ।
७, कयौं ठाउँका क्वारेन्टाइन निश्चित मापदण्ड अनुरुपको नभएको र त्यसो हुंदा एकातर्फ कोरोनाकै थप जोखिम बढ्ने देखिएको छ भने अर्कातर्फ डेङ्गो, मलेरिया र अन्य रोगको संक्रमण समेत भएको विवरण आएका छन् । अत विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनहरुको उचित ब्यवस्थापन जरुरी छ ।

कृष्णप्रसाद पौडेल

मुख्य सचिव