पु.समाचार

कोभिड–१९ को उपचारपछि घर फर्किए १६ सङ्क्रमित

१४ वैशाख, काठमाडौँ । कोभिड–१९ को उपचारपछि घर फर्किनेको सङ्ख्या १६ पुगेको छ । आज वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उपचाररत थप चारजना सङ्क्रमित निको भएर घर फर्किएसँगै कोभिड–१९ सङ्क्रमितको उपचारपछि स्वस्थ भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सङ्क्रमित ५१ मध्ये १६ जना घर फर्किएको र ३५ उपचारका क्रममा रहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशका विभिन्न अस्पतालमा उपचाररत कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

यसअघि शुक्रबार धौलागिरि अस्पतालमा उपचारत एक कोरोना सङ्क्रमित युवती स्वस्थ्य भएर घर पठाइएको थियो भने शनिबार राति भरतपुरमा उपचाररत २७ वर्षीय पुरुषको पनि उपचारपछि घर पठाइएको थियो । हाल धनगढीमा एक, वीरगञ्जमा तीन, भरतपुरमा एक र विराटनगरमा ३० जना कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

नेपालमा पहिलोपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका चीनबाट आएका एक व्यक्ति यसअघि नै घर फर्किसकेका छन् । कोभिड–१९ नेपालमा पहिलोपटक गत माघ ९ गते सङ्क्रमण देखिएको थियो । दोस्रो सङ्क्रमित चैत १० गते फेला परेको थियो । चैतको १० मा उहाँमा सङ्क्रमण देखिएपछि सरकारले भोलिपल्ट चैत ११ गते ‘लकडाउन’को घोषणा गरेको थियो । पछिल्लो पटक गत वैशाख २ को मन्त्रिपरिषद्ले आगामी १५ गतेसम्म ‘लकडाउन’लाई निरन्तरताको निर्णय गरेको थियो । ‘लकडाउन’ नियमित गर्ने कि नगर्ने भनी निर्णय गर्न आएको मन्त्रिपरिषद्को बैठक बसेको छ ।

थप दुईमा सङ्क्रमण, ५१ पुगे सङ्क्रमित

कोरोना भाइरसको सङ्क्रमण थप दुईजनामा देखिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए । ती दुवैजना अहिले आइसोलेशनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

एकाउन्न हजारभन्दा बढीको परीक्षण

सरकारले हालसम्म कूल ५१ हजार ३६७ जनाको परीक्षण गरिएको छ । यसमध्ये पिसिआर प्रविधिबाट नौ हजार ९३१ र ¥यापिड डाइग्नोस्टिक टेष्ट प्रविधिबाट ४१ हजार ४३६ जनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई हजार ९६ जनाको थप परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेश नं १ मा कूल चार हजार ३०८ परीक्षण गरिएको छ । प्रदेश नं २ मा कूल पाँच हजार १४१, वाग्मती प्रदेशमा कूल सात हजार ५९१ परीक्षण गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा कूल चार हजार ९२४, प्रदेश नं ५ मा तीन हजार ३२६, कर्णाली प्रदेशमा चार हजार ९७४ र सुदूरपश्चिम प्रदेशमा कूल ११ हजार १७२ नमूना परीक्षण गरिएको छ ।

हालसम्म कूल १७ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै कूल ११० जना आइसोलेशनमा छन् । तीमध्ये काठमाडौँ उपत्यकामा छ र बाहिर १०४ रहेका छन् । पछिल्लो २४ घण्टामा मन्त्रालयले स्थापना गरेको कल सेन्टरमा कूल दुई हजार ७१ जनाले फोन सम्पर्क गरेका थिए । उक्त फोन सम्पर्कलाई सम्बन्धित चिकित्सकले आवश्यक समाधान गरेको प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

हालसम्म मन्त्रालयले सञ्चालनमा ल्याएको मोबाइल एपमा कूल २६ हजार ८१० जनाले स्वमूल्याङ्कन फाराम भरेकामा छ जनाको अवस्था जोखिमपूर्ण देखिएकाले टे«सिङ गर्ने कार्य जारी रहेको छ । हालसम्म कूल ‘रेड जोन’ मा भने २९६ जना रहेका छन् । प्रदेश नं २ का आठै जिल्लामा परीक्षणको दायरा विस्तार गर्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ । यो प्रदेशमा एक हजार ५०० जनाको परीक्षण गर्ने लक्ष्य लिइएकामा हालसम्म एक हजार २७ जनाको नमूना सङ्कलन भइसकेको छ ।

यस्तै प्रदेश नं १ मा ४१३ को परीक्षण भएको र ३३७ जनाको नमूना सङ्कलन गरिएको जनाइएको छ । झापाको दमका एक सङ्क्रमित देखिएसँगै उनीसँगको संसर्गमा रहेका ५० भन्दा बढीको नमूना सङ्कलन भइसकेको मन्त्रालयका प्रवक्ता देवकोटाले बतउनुभयो । उहाँले कोभिडको उपचारमा आवश्यक जनशक्ति र अपर्याप्त स्रोत साधनबीच पनि सरकारले जोखिम न्यूनीकरणका लागि काम गरिरहेको बताए ।

मन्त्रालयलाई स्वास्थ्य सामग्री सहयोग

यसैबीच लाइन्स क्लब इन्टरनेशनले अत्यावश्यक स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई दिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण भएको मन्त्रालयले जनाएको छ । जम्मा रु ५७ लाख ५० हजार मूल्य बराबरका स्वास्थ्य सामग्रीमध्ये दुई हजार थान पिपिई, पाँच हजार थान एन–९५ मास्क, सोही सङ्ख्यामा सर्जिकल मास्क, ग्लोब्स २० हजार थान छन् ।

बालबालिकामा कोभिडको जोखिम कम

विश्वभरका बालबालिकामा कोभिड–१९ को सङ्क्रमण कम पाइएको छ । नेपालमा पनि बालबालिकामा कोभिड–१९ को जोखिम कम रहेको कान्ति बाल अस्पतालका निर्देशक कृष्ण पौडेलले बताए । उनले हालसम्म १८ वर्षका दुई र सो उमेरभन्दा मुनिका एक जनामा सङ्क्रमण देखिए पनि उनीहरु उपचारपछि घर फर्किसकेको बताए ।

कान्ति बाल अस्पतालमा हालसम्म कोभिडको सम्भावित १६ जना बालबालिकाको नमूना परीक्षण गरिएकामा सबै नेगेटिभ नतिजा आएपछि घर फर्काइएको निर्देशक पौडेलले जानकारी दिए ।