पु.समाचार

बढी मुल्य लिई उपभोक्ता ठग्ने मासु र औषधि पसल कारवाहीमा

१३ वैशाख, काठमाडौँ । खसीको मासुलाई प्रतिकिलो एक हजार पाँस सयमा बिक्री गर्ने ललितपुरको एक मासु पसललाई कारवाही गरिएको छ । चापागाउँमा सञ्चालित शिव कोल्ड स्टोर्सले बढी मूल्यमा मासुको बिक्री वितरण गरेको पाइएकाले दुई लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार उक्त मासु पसलले बढी मूल्यमा मासु बेचेको र मूल्य सूचीसमेत नराखेको पाइएकाले जरिवाना गरिएको हो । नियमित बजार अनुगमनका क्रममा आज चापागाउँ दोबाटोमा सञ्चालित प्रतिमा फार्मेसीलाई सर्जिकल मास्क बढी मूल्यमा बिक्री गरेपछि दुई लाख जरिवाना गरिएको हो ।

उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा औषधालयमा अनुगमगन गरिएको थियो । विभागकै कर्मचारीलाई समेत सानो सर्जिकल मास्कको २० लिई खरीद बिलसमेत देखाउन नसकेपछि कारवाही गरिएको उनले जानकारी दिए।

त्रिपुरेश्वरमा दर्ताविनै सञ्चालन भएको भण्डारी सर्जिकल हाउस र डिल्लीबजारस्थित राजु फ्रेस हाउसलाई पनि कारवाहीस्वरुप पचास÷पचास हजार जरिवाना गरिएको छ । उक्त हाउसमा मूल्य सूची नभएको भन्दै जरिवाना गरिएको विभागले बताइएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तिनलाई जरिवाना गरिएको विभागले जनाएको छ ।