पु.समाचार

कोरोना जितेकी युवती भन्छिन्ः धैर्य र आत्मबल नै कोरोनाको औषधि

गलकोट, १३ वैशाख । बागलुङकी कोरोना सङ्क्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकि छिन् । युवतीको पाँचौँ र छैटौँ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले कोरोनामुक्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाकोे पाँचौँ रिपोर्ट नेगेटिभ आएपछि पुनः स्वाब परीक्षणका लागि शुक्रबार पोखरा पठाइएको र छैटौँ स्वाबको नमूना पनि नेगेटिभ आएपछि शुक्रबार राति अस्पतालले अंशुलाई डिस्चार्ज गरेको धवलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिएका छन् । २८ दिनको अस्पताल बसाइपछि घर फर्कने क्रममा अंशुले आफूले कोरोनालाई जितेर घर हिँड्दा खुशीको सीमा नरहेको बताएकी छिन् ।

उनले आत्मबल नै सबैभन्दा ठूलो भएको भन्दै धैर्यता गर्न सबैलाई आग्रह गरिन् । “सबैभन्दा ठूलो कुरा आत्मबल र धैर्यता रहेछ”, सापकोटाले भनिन्, “कोरोनालाई जित्न रोग प्रतिरोधी क्षमता बढाउँदै आत्मबल दह्रो बनाउँदै लगे ।” उनले औषधि नै पत्ता नलागेको रोगलाई जित्ने उपाय धैर्य गर्नु र आत्मबल बढाउँदै लैजानुभएको भन्दै उपचारमा संलग्न चिकित्सकहरुलाई धेरै धन्यवाद दिएकि छिन् । “चिकित्सकहरुको परामर्श र अभिभावकको सान्त्वनाका कारण अस्पतालमा बिताएका २८ दिन लामो लागेन”, उनले अनुभव सुनाईन् ।

“२८ दिनको अवधिमा एक दिन पनि आफूलाई कमजोर बनाइन, आत्मबल झनै दह्रो बनाएर बसेँ ।” अन्य कोरोना सङ्क्रमितले पनि स्वास्थ्यको ख्याल गर्दै मनोबल बढाउँदै लैजान सुझावसमेत दिईन । आफूले आफैँलाई कमजोर ठाने रोगले गलाउँदै लाने भन्दै उनले सबैलाई रोगप्रति सचेत रहन आग्रह गरेकि छिन् । सापकोटाले मानसिकरूपमा विचलित भएमा कमजोर हुने भन्दै सबैलाई सकारात्मक सोच्न आग्रह गरिन । आत्मबल र धैर्यता नै कोरोनाको अचुक औषधि रहेको उनले बताईन ।

छोरीलाई कोरोना सङ्क्रमित हुँदा जीवनमा सबैभन्दा बढी पीडावोध भए पनि २८ दिनमा छोरीलाई घर फर्काउन पाउँदा ज्यादै खुशी भएको अंशुका बुबा ऋषिराम सापकोटाले बताएका छन् । उनले छोरीलाई २८ दिनसम्म एक्लै अस्पतालमा राख्दा बाबुका नाताले धेरै पीडा भए पनि सकुसल घर फर्काउँदा पीडा खुशीमा परिणत भएको बताए । अठ्ठाइस दिनको अस्पताल बसाइमा कुनै समस्या नभएको भन्दै अंशुले उपचारमा खट्ने तथा सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएका थिए ।

अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले गरेको हेरचाहप्रति आफू आभारी भएको अंशुको भनाइ छ । अस्पताल बसाइमा अंशुले आफूलाई कहिल्यै कमजोर नठानेको उपचारमा संलग्न डा शैलेन्द्र बी पोखरेलले जानकारी दिएका छन् । युवतीलाई नेपाल रेडक्रस सोसाइटीकोे एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालयले घर पुर्याएको थियो । युवतीको अवस्था सामान्य भए पनि यसअघिको चार स्वाब रिपोर्ट कोरोना सङ्क्रमण अर्थात् पोजेटिभ रिपोर्ट आएको थियो ।

युवती चैत ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएकि थिईन् । उनको चैत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यसै सातामात्रै नेपालको छैटौँ तथा जिल्लाको दोस्रो सङ्क्रमित बानपा–३ गौडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल दम र उच्च रक्तचापका बाबजुद पनि सहजै कोरोनालाई जितेर घर फर्किएकि छिन् ।