पु.समाचार

बसाइसराइको समस्या समाधान गर्न काँग्रेस नेता बडुको सरकारसँग जोडदार माग

१२ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सङ्घीय सांसद दिलेन्द्रप्रसाद बडूले दार्चुलामा बसोबास गर्दै आएका ‘सौका’ समुदायको बसाइँसराइ (कुन्छा) सर्ने सम्बन्धमा आइपरेको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आज एक वक्तव्यमार्फत बसाइँसराइका लागि नेपालतर्फको बाटो पहिराले अवरुद्ध रहेको र लकडाउनका कारण भारतको बाटो प्रयोग गर्ने अवस्था नभएकाले तत्काल वैकल्पिक उपायबाट आवश्यक व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन् ।

दार्चुलाको ब्यास गाउँपालिका–१ लगायत स्थानीय सौका समुदाय तथा अन्य नागरिक मङ्सिरदेखि चैतसम्म जिल्ला सदरमकाम खलङ्गलगायत क्षेत्रमा तथा वैशाखदेखि कात्तिकसम्म हिमाली क्षेत्रको तिङ्कर र छाङरूगाउँमा आ–आफ्नो परिवार र गाईवस्तुसहित कुन्छा सर्ने गर्छन् ।

उक्त क्षेत्रमा आवतजावत गर्नका लागि नेपालतर्फ बाटोघाटो राम्रो नभएकाले वर्षेनी उनीहरु भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । नेपालतर्फ ब्याँस गाउँपालिकाको घाँटीबगरबाट गिरगिरेसिङसम्म करिब दुई किलोमिटर बाटो पहिरो गइ अवरुद्ध भएकाले समयमै कुन्छा सर्न नपाउँदा सौका समुदाय बिचल्लीमा परेको उनले बताएका छन् ।

विगतमा ब्याँसको तिङ्कर र छाङरूका झण्डै १५० परिवार वैशाख पहिलो हप्ताभित्र कुन्छा सर्ने गरेको पनि यसपालि कोरोना भाइरसको सङ्कटका कारण नेपाल र भारत दुवैतर्फ लकडाउन लागू भएकाले बसाइँ सर्न नसकेको नेता बडूले उल्लेख गरेका छन् । उनले सो क्षेत्रको सीमास्थित महाकाली नदी किनारको घट्टेबगर तथा गिरगिरेसिङमा दुवै ठाउँमा अस्थायी पुल निर्माण गरेर दुई किलोमिटर मात्र भारतीय बाटो प्रयोग गर्ने गरी कुन्छा सर्न वैकल्पिक व्यवस्था मिलाउनका लागि भारतीय सरकारसँग कूटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।