अन्तर्राष्ट्रिय

घरमै बसेर रमजान मनाउन मुसलमान समुदायलाई आग्रह

एजेन्सी । मुसलमान समुदायको ठूलो पर्वको रुपमा रहेको रमजान मनाउँदा घरमै बसेर मनाउन आह्वान गरिएको छ । चर्चित गजल गायकद्वय उस्ताज अहमद हुुसेन र उस्ताज मोहम्मदले जयपुरबाट यस्तो आह्वान गरेका छन् । कोरोनाभाइरसको सङ्क्रमण फैलिने खतरा र बन्दाबन्दीको कार्यान्वयन गर्नुपर्ने पक्षलाई ध्यान दिँदैै घरमै रमजान मनाउनु उपयुक्त हुने उनिहरुको भनाइ छ ।

भारतमा देशव्यापी बन्दाबन्दी लागु भइरहेको छ भने दैनिक दर्जनौमा कोरोनाभाइरसको सङ्क्रमण देखिदै गएको छ । उनिहरुले आफैले बनाएको भिडियो सन्देश मार्फत् लकडाउनको उल्लङ्घन नगरी घरमै बस्न र घरमै रमजान मनाउन आग्रह गरिएको छ । मुस्लीम धर्माबलम्बीहरुले एक महिनासम्म व्रत गरेर मनाउने महत्वपूर्ण पर्व मानिने रमजान यही अप्रिल २५ देखि शुरु हुन लागेको छ । रमजानको शुभकामना समेत दिँदै उनिहरुले लकडाउनसम्वन्धी निर्देशिका पूर्णरूपमा पालना गर्न पनि आग्रह गरेका छन् ।

त्यसैगरी फिल्म अभिनेता राजा मुरादले पनि अल्लाहको मार्गलाई मनन् गर्दै एक महिने रमजान मनाउन आग्रह गरेका छन् । भिडियो सन्देशमार्फत् उनले मुस्लीम दाजुभाई तथा दिदीबहिनीहरूलाई अहिलेको विशेष अवस्थालाई ख्याल गर्न पनि ध्यानाकर्षण गराएका छन् ।