पु.समाचार

पत्रकारलाई तत्काल पारिश्रामिक भुक्तानी गर्न महासँघको आग्रह

११ बैसाख, काठमाडौं । नेपाल पत्रकार महासङ्घले आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने ठूला सञ्चार गृहका पत्रकारलाई तलब नदिएकाप्रति आपत्ति प्रकट गर्दै पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षता काठमाडौँमा उपलब्ध पदाधिकारी तथा सदस्यसहितको बैठकपछि आज जारी प्रेस विज्ञप्तिमा दबाबपूर्ण बेतलवी बिदाको क्रम रोक्न र पारिश्रमिक नदिएका सञ्चार प्रतिष्ठानलाई तत्काल पारिश्रमिक भुक्तानी गर्न आग्रह गरिएको छ ।

कोरोनाको सङ्क्रमणले उत्पन्न गराएको सङ्कटपूर्ण अवस्थाले श्रमजीवी पत्रकारलाई प्रभावित पारिरहेको समयमा कान्तिपुर मिडिया ग्रुप तथा अन्नपूर्ण मिडिया ग्रुपसम्बद्ध पत्रकारलाई दबाब दिएर बेतलवी बिदा दिने र नेपाल रिपब्लिक मिडिया प्रालि, एभिन्युज टेलिभिजन, राजधानी दैनिकसहितका कतिपय सञ्चार गृहले लामो समयदेखि पारिश्रमिक नदिएकाप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

महासङ्घले अहिलेको संकटपूर्ण अवस्थालाई मध्यनगर गर्दै सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानको समस्या सम्बोधनका लागि राहत सुविधा उपलब्ध गराउन माग गर्दै केन्द्रमा नेपाल सरकार र प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ । बैठकले श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि अनुगमन, समन्वय र कानूनीलगायतका संघर्ष गर्न महासङ्घले महासचिव रमेश विष्टको नेतृत्वमा एक समिति गठन गर्ने निर्णय गरेको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरसको सङ्क्रमणले नेपाललाई प्रभावित पारिरहेको सन्दर्भमा आम सञ्चारकर्मी उच्च जोखिमका बीच जनतालाई सुसूचीत गराइरहेको निष्कर्ष निकाल्दै कोरोनाको सङ्क्रमण देखिएका जिल्लासहित सबै जिल्लामा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीको ¥यापिड टेस्टसहित परीक्षणको व्यवस्था मिलाउन बैठकले नेपाल सरकारसँग माग गरेको छ । कोरोना सङ्क्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसूचीत गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न महासङ्घले आह्वान गरेको छ ।