सुदूरपश्चिम

राहत वितरणमा पक्षपात गर्नेलाई कारवाही हुन्छः मुख्यमन्त्री भट्ट

११ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले लकडाउनका समयमा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई वितरण गरिने राहतमा पक्षपात गरिए कारवाही गरिने चेतावनी दिएका छन् । राष्ट्रिय समाचार समितिसंँग आज टेलिफोन संवाद गर्दै मुख्यमन्त्री भट्टले गरीब, विपन्न र असहायलाई वितरण हुने राहतमा राजनीति र पक्षपात नगर्न आग्रह गरे ।

सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको राहतमा यहाँका स्थानीय तहले पक्षपात गरी वितरण गर्न थालेको भन्ने व्यापक गुनासो आएपछि मुख्यमन्त्री भट्टले मापदण्ड बनाई राहत वितरण गर्न सुझाव दिए। “ अन्याय भयो वा पाउनैपर्ने मान्छे अटाउन सकिएन भने त्यस्ता कुरा तत्काल सच्चाउनुहोस्”, उनले भने, “राहत वितरणमा कमजोरी नहोस्, गरीब जनताको घरमा चुल्हो नबल्ने स्थिति नआओस् ।”

त्यस्तै मुख्यमन्त्री भट्टले प्रदेश सरकारको राहत वितरणमा सहज वातावरण बनाउन सबै स्थानीय तह र नागरिकलाई आग्रहसमेत गरेका छन् । राहत वितरणमा कतै कमजोरी रहे वडाध्यक्ष, सम्बन्धित पालिकाका प्रमुख, उपप्रमुख तथा प्रदेश सरकार मुख्यमन्त्री कार्यालयको निःशुल्क हटलाइन नम्बर ११४८मा सम्पर्क गर्न मुख्यमन्त्री भट्टले अनुरोध गरेका छन् । अर्को प्रसङ्गमा उनले भने, “कोरोना जोखिम न्यूनीकरणका लागि ‘लकडाउन’ एक मात्र अस्त्र भएका कारण सबैले यसको पालना गर्नुको विकल्प छैन, सबै मिली कोरोनाको सामना गरौँ ।” पहाडी जिल्लामा कोरोना भाइरसको परीक्षणका लागि डोटी र बैतडीका जिल्ला अस्पताल छनोट भइसकेकाले उपकरण पाउनेबित्तिकै काम शुरु हुनेसमेत मुख्यमन्त्री भट्टले जानकारी दिए ।