राजनीति

मातातिर्थ औंशी/लोकतन्त्र दिवशमा नेता सिंह भन्छन्ः नेपाल देश पनि आमा हुन्

११ बैसाख, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले आज यस धर्तीमा जन्म दिने आमाको मुख हेर्ने दिन अनि नेपाली जनताको जित भएको दिनको रुपमा लिएका छन् । उनले आजको दिनलाई मुलुकमा नागरिक सर्वोच्चता कायम भएको महत्वपूर्ण दिनको रुपमा लिँदै मानव जीवनको चोला सार्थक बनाउनु छ, नेपाल देश पनि आमा हुन् भँन्ने भावनात्मक अभिक्ती दिएका छन् ।

नेता सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु अनि विभिन्न बहानामा प्रकट हुँदै आएका प्रहारबाट नेपाल आमालाई बचाउनु पर्ने महत्वपूर्ण जिम्मेवारी भएको बताउँदै त्यसका लागि आफू दत्तचित रहेको बताएका छन् ।

नेता सिंह भन्छन्, ‘जनअपेक्षा अनुरुपको नागरिक सर्वोच्चता कायम गराउनु, सबैखाले अतिवादबाट नागरिक सर्वोच्चतालाई जोगाउँदै सम्वृद्धिको यात्रामा डोराउनु पर्ने दायित्व छ । हालसम्मका उपलब्धीको रक्षा गर्दै, यो या त्यो बहानामा प्रकट भएका सर्वसत्तावाद र अधिनायकवादबाट बचाउन म संघर्ष गरिरहने छु ।

सम्पूर्ण जनसमुदायलाई पनि नेपाल आमाविरुद्धका प्रहारबाट जोगाउन आ–आफ्नो ठाउँबाट पहल गर्न आज फेरि पनि हार्दिक अपिल गर्दछु । हामीले गर्न अझै धेरै बाँकी छ । अमूल्य जीवनलाई सार्थक तुल्याउनु छ ।

यति बेला जनजीवन कोरोना भाइरस संक्रमणको कारण अस्तव्यस्त छ । मलाई थाहा छ तपाईं हामी सबैको दैनिकी सहज छैन । यस्तो विषम परिस्थितिमा जनजीवन सम्बोधन गर्नुभन्दा सरकार अधिनायकवाद उन्मुख हुँदैछ । तपाईं हामी झनै चनाखो बन्दै यो विपत्तिबाट नेपाल आमालाई जोगाउनु छ । आउनुहोस् सबैखाले अतिवाद, निरंकुश शैलीको मिलेर सामना गरौं र यो मातृभूमीको रक्षा गरौं । बाचौं र बचाऔं ।

मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन र लोकतन्त्र दिवसको अवसरमा सबै नेपाली दाजुभाइ, दिदी बहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । जीवन बलिदान गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु ।’