विचार/ब्लग

एकदिन होईन आमालाई आजीवन सम्मान गरौं, पुजा गरौं

शोभा रावत / आमा, दुई अक्षरले बनेको सुन्दै प्यारो लाग्ने शब्द । जसको साथ, सहयोग, मायाँ बिना हाम्रो जिवन नै सार्थक हुँदैन र फिक्का हुन्छ । जस्को छहारीमा हामीले एकदमै शितलता, आनन्द, खुशी र सुरक्षीत महशुस गर्दछौं । हाम्रो हरेक कष्ठ, पीँडा, तनाव मुक्त हुन्छ जब हामी आफ्नी आमासंग परामर्श, भलाकुसारी गर्छौं, या मनको पीँडा तनाव बिसाउँदछौं । म ठोकवा गरेर भन्छु कि निस्वार्थ रुपमा हाम्रो पीँडा सुनिदिने र बुझिदिने आमा बाहेक संसारमा अरु कोहि हुँदैन ।

जस्लाई हामी आँखा चिम्लीएर भरोसाकासाथ मनमा लागेका हरेक कुरा कुनै हिच्किचाहट ढुक्कका साथ बिश्वास र भरोसा गर्न सक्दछौं । आमा हाम्रो पहिलो गुरु, पहिलो साथी हुन् उनीबाट हामीले विद्यालयको शिक्षा भन्दा पहिले धेरै ज्ञान, शिक्षा लिईसकेका हुन्छौं । हाम्रो मनमा लागेका हरेक कुरा खुलेर निर्धक्कका रुपमा भन्न सक्दछौं । बिद्यालयको शिक्षाले मात्रै हाम्रो जिवन कहिलै सार्थक, सफल बन्न सक्दैन जब आमाको ब्यबाहारीक शिक्षाबाटै बञ्चित छौं भने ।

हामीलाई एक असल साथी जसरी हरेक कुरामा सहि बाटो देखाउने एकमात्रै व्यक्तिपनि आमा नै हुन् । हामीलाई असल– खराब छुट्याउन सक्ने, सहि बाटोमा हिँड्न सिकाउने वा केही गलत काम गरेको भए फेरि पनि सम्हाल्लीन हौसला प्रदान गर्दै सहि बाटोमा ल्याउने एकमात्र पात्र हुन् आमा । यस्तै आमा हाम्रो मनोपरामर्श–दाता पनि हुन्, उनले सन्तानले केहि नबोलीकनै उस्को ईसारामा मनको भावना, कुरा बुझ्दछिन् ।

सन्तानले, के भन्न चाहिरहेको छ? आमा–बाबुबाट सन्तान के चाहन्छ ? भन्ने भावना आमाले राम्रोसंग बुझेकी हुन्छिन् । यतीमात्रै होईन आमा सन्तानका लागि एक डाक्टर, शिक्षक, र भगवाव सबथोक हुन् । साँच्चै आमा महान हुन् । सम्मान छ ती सबै आमालाई जस्ले सन्तानको लागि निस्वार्थ आफ्नो पुरै जिवन समर्पित गरिन् । सन्तानको शुख, खुशीको लागि आँफुले संधै दुःख र कष्ट सहिन् तरपनि सन्तानको अगाडी संधै मुस्कुराउन सिकिन्, किनकी ती आमा हुन्।

आज माता तिर्थ औंशी÷आमाको मुख हेर्ने दिन अंग्रेजीमा मर्दस डे पनि भन्ने गरिन्छ । आजको दिनमा सम्पुर्ण नेपाली छोरा–छोरीहरुले देश तथा विदेश जहाँबाट भएपनि आमाको सम्मान, सम्झना गर्दै यो दिवसलाई मनाईरहेका छन् । घरमै हुनेहरुले आमालाई मीठो खानेकुरा खुवाउँदै नयाँ वस्त्र वा केही उपहार दिएर आमाको आर्शिवाद लिएर मनाई रहेका छन् । यस्तै आमा नभएकाहरुले भने आज विभिन्न मठ–मन्दिरमा गएर आमालाई सम्झँदै पुजा गर्ने, विभिन्न आश्रमहरुमा गएर वृद्ध–वृद्धलाई खाना खुवाउने, र आमालाई सम्झँदै विहानै सुर्यलाई जल चढाउने गर्दछन् ।

आजका दिनमा विभिन्न मन्दिरहरुमा भक्तजनको घुँईचो लाग्ने गर्दथ्यो । तर विश्वभरी फैलिएको कोरोना माहामारी कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउनका कारण यसपाली भने त्यती रौनक छैन । मठ–मन्दिरहरु सुनसान छन् । लकडाउनमा धेरैमान्छे एकैठाउँमा जम्मा हुन सरकारले रोक लगाएका कारण मन्दिर जान चाहनेहरु मन्दिरहरुमा जान पाएका छैनन् ।

कोरोनाले संक्रमणका कारण सिंगो देश लकडाउनमा रहेकाले घरदेखी टाढा रहेका छोरा/छोरीले पनि आमालाई भेटेर आर्शिवाद लिन पाएका छैनन् । घरदेखी टाढा रहेका छोरा–छोरीहरुले मोवाईलमा फोन, सामाजिक सञ्जालबाट भिडियो कल गरेर आमालाई सम्झेका छन्, आर्शिवाद लिएका छन् ।

वर्षमा एक दिन आउने यो दिवसमा आज फेसबुकका भित्ताहरुमा आमाका तस्विरहरु ह्याप्पी मर्दस डे, मातातिर्थ औंशिको शुभकामना, लगायतका स्टाटस्का साथ टांगिएका छन् । अन्य ३६४ दिनमा आमालाई सम्मान नगर्नेहरु पनि आजको दिनमा देखावटी रुपमै भएपनि सामाजिक सञ्जालमा आमालाई सम्झेको देखाएका छन् । स्वच्छ र निस्वार्थ मनले कुनैबेला पनि आमालाई सम्मान गर्न सम्झन सकिन्छ । तर पछिल्लो समय सामाजिक सञ्जालमा धेरै नै प्रचार गरेको पाईएको छ । हामीलाई जन्मदिई दश–धारा दुध खुवाई संर्घषका साथ विभिन्न पीँडाहरु सहेर हुर्काउने आमालाई जति सम्मान गरेपनि कमी हुने छ तर मनदेखी नै गर्न सिक्नु भने सबै छोराछोरी कर्तब्यको रुपमा लिनु आजको २१ औं शताब्दीको आवश्यक्ता हो ।

आमालाई सम्झेर फेसबुकहरुमा फोटो राख्नु गलत होईन तर वर्षको ३६४ दिनमा आमालाई रुवाएर एकदिनको लागिमात्रै देखावटी रुपमा आमाको फोटो पदर्शन गर्नु त्यति उचित होईन । आमालाई भगवान सम्झेर जहिले सम्मान, मायाँ, आदर गर्न सकिन्छ त्यस्का लागि कुनै दिवसको जरुरी पनि छैन । आमाले शन्तानबाट त्यती ठुलो आशा पनि राखेकी हुँदिनन् बस सन्तानले प्रगती गरोस, बुढेसकालमा साहरा बनोस, माया दिओस, सम्मान गरोस उनीहरुको यहि चाहना पुरा गरेमामात्रै सार्थक हुनेछ ह्याप्पी मर्दस डे ।

यस्तै पछिल्लो समय ठुला सहरहरुमा काममा व्यस्तता भएको या आमाको स्याहार, सुसार गर्ने समय नमिल्ले भन्दै आमाहरुलाई वृद्धाश्रम लिएर छाड्ने कार्य धेरै बढेको छ । त्यो एकदमै निन्दनीय कार्यपनि हो, जब एउटी आमाले आफ्नो पुरै जिन्दगी सन्तानको नाममा गरिदिएकी हुन्छन् भने त्यहि सन्तानले आमालाई केहि समय दिन नसक्नु दुर्भाग्य हो ।
एउटा सन्तान जन्मिएर हुर्काउँदा एउटी आमाले ५० हजारको जागिर पनि छाडेर आफ्नो सन्तानको लालन,पालनमा लगाउन सक्छिन भने सन्तानले आफ्नो २४ घण्टाको समयमा २–४ घण्टा आमाको नाममा दिन सक्दैन भने यस्ता दिवसमा एकदिन रमझम देखाउनुको कुनै औचित्य हुदैन ।

आमाको साथ, माया, आर्शिवाद सँधै भाग्यमानी मानिसले मात्रै पाउँछन् सबैको भाग्यमा आमाको लामो साथ हुँदैन र आमा हुनेले आमा चिन्दैनन् । महिलाहरुले भबिश्वमा आफुपनि कसैको आमा बन्ने हो र पुरुषहरुले बाबु बन्ने हो भन्नेबारे सबैले हेक्का राख्न जरुरी छ ।

आमाको मुख हेर्ने दिवशलाई सार्थक तुल्याऔं, एबदिनमात्र होईन ३६५ दिन वा बर्षैभरि आमाको माया गरौं, आमाको सम्मान गरौं । एकदिनमात्र होईन आमालाई आजीवन सम्मान गरौं, पुजा गरौं । मातातिर्थ औंशीको हार्दिक शुभकामना !