अन्तर्राष्ट्रिय

मुम्बइमा दुई चिकित्सक र पाँच नर्सलाई कोरोना संक्रमण

एजेन्सी । मुम्बईमा दुई जना चिकित्सक र अरु पाँचजना नर्ससहित अस्पतालका आठ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको बुधबार जनाइएको छ । प्राप्त समाचारअनुसार मुम्बइका दुई जना चिकित्सक र पाँच जना स्टाफ नर्सलाई कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी सो अस्पतालका अर्का एकजना कर्मचारी पनि यसबाट संक्रमित भएका बताइएको छ ।
उनीहरु मुम्बईको भाटिया अस्पतालका कर्मचारी हुन् ।

उनीहरु सबैजनाको उपचार सोही अस्पतालमा भइरहेको बताइएको छ । तीमध्ये पाँचजना नर्सलाई भने आइसियुमा राखेर उपचार गरिएको समाचारमा जनाएको छ । भाटिया अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्तिका अनुसार ती सबैको स्वास्थ्य अवस्था गम्भीर नरहेको बताइएको छ । उनीहरुको अवस्था हाल खराब नरहेको सो अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि पनि सो अस्पतालका ११ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु उपचारपछि घर फर्किएका छन् । उपचारपछि घर फर्किएका उनीहरुलाई पनि होम क्वारेन्टिनमा राखिएको छ । बुधबार बिहान १० बजेसम्म महाराष्ट्र राज्यमामात्र कोरोनाका ५ हजार २२९ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये गएको २४ घन्टाभित्र यस राज्यमा मात्र ५५३ जना संक्रमित भेटिएका हुन् ।

यस राज्यमा मात्र कोरोना संक्रमणबाट २५१ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । प्राप्त समाचारमा गएको २४ घन्टाभित्र मात्र यहाँ यो संक्रमणबाट १९ जनाको ज्यान गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

भारतमा बुधबार बिहानसम्म १९ हजार ९८४ जनामा कोरोनाको संक्रमण देखिएको छ । गएको २४ घन्टायता मात्र यहाँ यो संक्रमणबाट ५० जनाको ज्यान गएको बताइएको छ ।भारतमा पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको संख्या निकै बढ्दै गएको छ । गएको २४ घन्टायता मात्र यहाँका १ हजार ३८३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यो संख्या भारतमा भएको कोरोनाको संक्रमण अवधिमा २४ घन्टाभित्र देखिएको सबैभन्दा धेरै हो । पछिल्ला दिनहरुमा कोरोनाका संक्रमितहरु थपिँदै गएपछि सरकारले पनि बढी सतर्कता अपनाएका समाचारहरु आइरहेका छन् ।