पु.समाचार

कोरोना व्यवस्थापनमा पारदर्शिता कायम गर्न ट्रान्सप्यारेन्सीको माग

१० बैसाख, काठमाडौं । कोभिड–१९ सम्बन्धी तीनै तहका सरकारबाट भइरहेको र हुने विपद् व्यवस्थापनमा जवाफदेहिता, पारदर्शिता र सदाचार कायम गर्न भ्रष्टाचारविरुद्ध सक्रिय ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले माग गरेको छ । टिआई नेपालका महासचिव मुकुन्दबहादुर प्रधानले १० बुँदे विज्ञप्ति जारी गर्दै सरकार र सङ्घ–संस्थाभित्रैबाट कोभिड–१९ सम्बन्धी कार्यलाई पारदर्शी बनाउने, अनियमितताबारे जानकारी दिने कर्मचारीलाई कारवाही नहुने व्यवस्था सुनिश्चित गर्न माग गरेका हुन् ।

कोरोना रोकथाम गर्ने केन्द्र, प्रदेश र स्थानीय सरकार एवं तिनका निकायको समन्वयात्मक काममा जवाफदेहिता बढाउन, तीनै तहको सरकारबाट विनियोजित बजेट र सङ्कलित रकमका साथै तिनको प्रयोग एवं खर्चको विवरण सर्वसाधारणका लागि पारदर्शी बनाउन पनि टिआई नेपालले माग गरेको छ । “कोभिड–१९ सङ्क्रमण रोक्न केन्द्र, प्रदेश र स्थानीय सरकारका राष्ट्रिय, प्रादेशिक र स्थानीय कार्ययोजनामा भ्रष्टाचार एवं अनियमितता हुनबाट रोक्ने, भएको खण्डमा कडा कारवाही गर्न जरुरी छ”, विज्ञप्तिमा भनिएको छ ।

रोकथामसम्बन्धी उपकरण, सामग्री तथा औषधि सार्वजनिक खरिद प्रक्रिया र ऐन–कानूनबमोजिम तोकिएका, जिम्मेवार तथा विशिष्टिकृत निकायबाट किफायतीरुपमा गरिनुपर्ने महासचिव प्रधानले बताउनुभयो । कोभिड–१९ सम्बन्धी काम–कारबाहीबारे सूचना माग्न पाउने नागरिकको हकको सम्मान गर्न, रोग नियन्त्रणमा सहयोगी औषधि, मास्क, स्यानिटाइजर, साबुन, चस्मा, सुरक्षित लुगा, भेन्टिलेटर आदि सरकारबाट तोकिएका स्वास्थ्य संस्थामा यथाशीघ्र उपलब्ध गराउन समेत विज्ञप्तिमा ध्यानाकर्षण गराइएको छ ।

सरकारीस्तरबाट हुने कोरोना रोकथाम एवं नियन्त्रणसम्बन्धी सबै प्रकारका विपद् व्यवस्थापनका प्रयासमा मानव अधिकार र जनचाहनालाई केन्द्रबिन्दु बनाइनुपर्ने, यसमा भएका सरकारी प्रयास र कार्यमाथि संसद्द्वारा सक्रियरुपमा निर्देशन, अनुगमन तथा सुपरीवेक्षण गर्नुपर्नेमा पनि टिआई नेपालले जोड दिएको छ । कोभिड–१९ सँग सम्वन्धित प्रयास र कार्ययोजना थप प्रभावकारी बनाउन सामूहिक र क्षेत्रगत प्रयास जरुरी रहेको टिआई नेपालले जनाएको छ ।