पु.समाचार

भारतबाट २३ टन कोभिड–१९ सङ्क्रमणको रोकथाम औषधि सहयोग

१० बैसाख, काठमाडौं । नेपाल सरकारलाई भारतले कोभिड–१९ सङ्क्रमणको रोकथाम र उपचारका लागि सहयोगस्वरुप १८ प्रकारका औषधि उपलब्ध गराएको छ । भारतले उपलब्ध गराएको २३ टन औषधिमा इन्जेक्सन, डेस्ट्रोज र हाइड्रोक्सिक्लोरोक्विनलगायत छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज ती औषधि हस्तान्तरण गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री ढकालले कोभिड–१९ विरुद्ध विश्व नै लडिरहेका बेला छिमेकीबाट नेपाली जनता र सरकारको प्रयासमा ऐक्यबद्धता जनाउन प्रदत्त सहयोगप्रति आभार व्यक्त गरे ।

उनले भने, “सङ्क्रमण र जोखिमका हिसाबले नेपालभन्दा भारत अप्ठेरो लडाइँमा रहेको छ । आफूलाई परेको अप्ठेरोका बाबजुत भारतका तर्फबाट नेपालप्रति जे सद्भाव र सदिच्छा राखिएको छ, त्यसप्रति धन्यवाद दिन चाहन्छु ।” चीनबाट शुरु भएको कोभिड १९ को प्रकोप फैलँदै भारत आइपुगेपछि नेपाल पनि उच्च जोखिममा छ भनेर गरिएको तयारी र सावधानीलाई नेपाल सरकारले एक स्तरमाथि पु¥याएको मन्त्री ढकालले जानकारी दिए । उनले भने, “नेपालको हकमा औषधिजन्य सामग्रीमा प्रतिबन्ध नलाग्ने भन्ने भारतीय सरकारको निर्णयले दुई देशबीचको सम्बन्ध अरु बलियो तुल्याएको छ ।”सो अवसरमा राजदूत क्वात्राले भारतीय सरकारका तर्फबाट उपलब्ध गराइएका औषधि सहयोगको एक उदाहरण भएको बताए ।

कोरोना रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) कोषमा नेपालबाट गरिएको योगदानको प्रशंसा गर्दै उनले कोभिड–१९ विरुद्धको लडाइँमा रहेको नेपाललाई पहिलो चरणमा यी औषधि उपलब्ध गराइएको बताए ।