विचार/ब्लग

अब पुष्टी भयो, पैसाको पछि मात्र दौडिने जिन्दगी, जिन्दगी रहेनछ !

प्रतिमा खनाल /धन–सम्पत्ति तथा पद प्रतिष्ठाको घमण्ड, डाहा, इश्र्या, अरुलाई खिल्ली गर्ने हेपाहा प्रबृति यी सबै आजको २१ औं शताब्दीका आम मानिसमा भरपुर मात्रामा देख्न सकिन्छ । आजका मानिसमा बर्गीय, लिङ्गीय, क्षेत्रीय, जातीय हिसावमा सानो र ठूलो भन्ने परम्पारा जस्तै भईसकेको छ । कुनै राम्रा र चर्चित पुष्तकमा राम्रा कुराहरु लेखिएका भएपनि ती कितावमा मात्र सीमित हुन् भन्ने कुरा लेखक र पाठक दुबैलाई जानकारी हुन्छ अर्थात त्यो सब कितावमा मात्र सीमित हुन्छ, ब्यवाहार अर्कै छ, आखिर सब बिभेद के का लागि ? चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस नामक एक सुक्ष्म भाइरसको अगाडी विश्वका शक्तिशाली राष्ट्रहरुले समेत घुँडा टेकिसकेको अवस्था छ । यही भाईरसको डरले जति नै उच्च आर्थिक हैसियत भएका संभ्रान्त बर्ग भएपनि बर्तमान समय गृहबन्दि भएका छन् । आजको दिन सम्ममा विश्वमा फैलिएको कोरोना भाइरस संक्रमीत व्यक्ति र सोबाट मृत्युहुन पुगेको व्यक्तिहरुको तथ्याँक सार्वजनिक गर्दे आइरहेको Worldometer का अनुसार आजका दिनसम्म २५ लाख ७२ हजार ६०३ जना यस रोगबाट संक्रमीत भएकोमा १ लाख ७८ हजार ५५७ जनाले ज्यान गुमाइसकेका छन् । सात लाख एक हजार ५०९ जना निको भएको समाचार पढेर चित्त बुझाउने ठाउँ भएपनि दैनिक संक्रमित र मृतकको संख्या धेरै नै बढिरहेको छ । नेपालमा ४२ जनामा संक्रमण देखिएपनि मानविय क्षती अहिलेसम्म भएको छैन । पछिलला संक्रमणका बढेका घटना देख्दा नेपालको अवस्थापनि लकडाउनमा बसेको एकमहिना हुँदा सम्म ढुक्क हुने अवस्था देखिँदैन ।

रातदिन नभनिकन मेशीनको रुपमा काम गरिरहेका बिशेषगरी बिकशीत मुलुकका मानिसहरुको गतिलाई अहिलेको समयले टक्क एकै ठाउंमा अड्याई दिएको छ । समय आफु भने यस भयावह त्रासको पर्वाह नगरी निरन्तर अगाडी बढिरहेको छ । न त हामीले समयलाई रोकेर राख्न सक्छौं, न त पछि धकेल्न नै । समय निकै वलवान छ – समयको गति भन्दापनि आफु अगाडी बढ्ने दौडमा रहेको मानव सभ्यता अहिले शुन्य प्रायः छ । विश्वका अधिकांस देशहरुमा लकडाउनको कारण आफ्नै घरमा बन्धक भएर बसेका मानिसहरु अब एकचोटी सोच्न बाध्य भएका छन् । विगतलाई फर्केर हेर्दा आखिर सम्पत्ती, सम्पन्नता, विलासीता भनेको के नै रहेछ र ? भन्ने प्रश्नचिन्ह सबैमा खडा भएको अवस्था छ ।

मानिसहरुले विकासको नाममा प्रकृति माथि दोहन गरिरहेको थिए । बन जंगल फडानी गरेर बस्ती बसाल्ने देखी खोलानालालाई उनीहरुको वगिरहेको धार नै परिवर्तन गर्न बाध्य गराउने मानवरुपी दानवसंग प्रकृति पनी रुष्ट बनेकी थिइन् । नेपालको सन्दर्भमा भन्नु पर्दा कलकल बग्ने सफा स्वच्छ बाग्मती र बिष्णुमती लगायत खोलाहरु ढलमा परिणत भएका छन् । ध्वनी प्रदुषण र वायु प्रदुषणले कतिपय जिवजन्तु तथा बनस्पति लोप भइसकेका र कतिपय लोपोन्मुख हुने अवस्थामा पुगेका छन् । संसारभरी नै विकासको होडबाजीले गर्दा बिकास संगसंगै प्रकृतिको विनास पनि भित्रीएको छ । अव त अति भयो भनेर प्रकृतिले मानव सभ्यतामाथि धावा बोलिन्की भन्ने भान पनि हुँदैछ, यस्ता कुरमा कतिपय बौद्धिक जमात बहस गर्न थालेका छन् ।

मानव सभ्यताको सुरुवात इटलीको रोमबाट भएको मानिन्छ । आजको अवस्थामा इटलीमा २४ हजारभन्दा बढिले ज्यान गुमाई सकेका छन् । Corona Virus अर्थात् COVID 19 रोगबाट कतै मानव सभ्यताको अन्त्य त हुने होइन भन्ने त्रास देखिएको छ । संसारकै सुन्दर र ऐतिहासिक Europe का शहरहरु मसान घाटमा परिणत भईरहेका छन् । मान्छे मान्छेसंग डराउने र टाढा हुने दिनपनि आउँदो रहेछ भन्ने समय वास्तबिकतामा परिणत भईसकेको अवस्था छ । एउटा सानो Virus ले विश्वलाई नै आतंकित र आर्थिक रुपमा जर्जर अवस्थामा पु¥याएको छ । विश्वको शक्तिशाली मानिएको महाशक्ती राष्ट्र संयुक्त राज्य अमेरीका यसबाट सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ । यति धेरै विकास गरेको विज्ञान अहिले निरुत्तरीत छ । बैज्ञानीकहरुको रातदिनको मेहेनत विफल भइरहेको छ । आसा गरौं भविश्यमा बैज्ञानिकहरुको हरसम्भव प्रयासको फल विश्वले पाउनेछ । COVID 19 को औषधि र Vaccine पत्ता लाग्नेछ ।

भनिन्छ रातपछि दिन आएजस्तै विनास पछि विकास पनि अवश्यनै हुन्छ । तर त्यसको लागि हामीले धैर्य गर्नुपर्छ । अबको विश्वले भोग्ने भनेको आर्थिक क्रान्ती नै हो । विश्व अर्थतन्त्र पुर्णरुपमा आक्रान्त भएको छ । नेपाल पनि यसबाट अछुतो रहने कुरै भएन । त्यसैले हामी नेपाली जनताले धैर्य धारण गरेर हातेमालो गर्दै राष्ट्रलाई सघाउने दिन पनि आएको छ । विदेशमा श्रम र पसिना बगाइरहेका नेपाली दाजुभाई दिदी–बहिनीहरु अव स्वदेशमै बसेर इज्जत र मिहेनतकासाथ आफ्नो पाखुरी खियाउने दिन आएको छ । भर्खर नव विवाहित श्रीमती बृद्ध बाबुआमा छाडेर खाडीको मुलुकमा पसिना बगाउन जानु भन्दा आफ्नै माटोमा शिर ठाडो पारेर नङग्रा खियाउने दिन आएको छ । सरकारले पनि विदेशीएका लाखौं युवाहरुलाई स्वदेशमा बसेर मिहीनेत गर्न, प्रोत्साहन गर्नुका साथै स्वदेशमै रहेको साधन र स्रोतको अधिकतम् उपयोग गरी दिर्घकालीन फाइदाका लागि स्वरोजगार सृजना गरी आत्मनिर्भर बन्ने वातावरण बनाउनु समय आएको अवस्था छ । त्यसका लागि हामीले हाम्रो संसाधनहरुको अधिकतम् र न्यायसंगत् ढंगले कृषि, स्वास्थ्य सेवा, शिक्षा सेवा, स्थानिय जिवीकोपार्जन र प्राकृतिक वातावरण संरक्षण क्षेत्रमा विषेश जोड दिन जरुरी छ ।

सोचौं अव पैसाको पछाडी दौडिने मात्र जिन्दगी रहेनछ । पैसा नै सर्वश्रेष्ठ चिज हुँदो हो त Italy को सडक किनारामा पैसा फालिएका दृश्य दृखिंदैन थियो होला । सोचौं शक्ती नै सबै कुरा होईन रहेछ, त्यस्तो हुन्थ्यो त कुनै मुलुकका राष्ट्रपति दैनिक हजारौं जनता मरोको दृष्य हेरेर आँखाभरी आँशु झार्दैनथिए होलान् । बिश्वमा स–सानो कुरामा बम बारुज गरी एक अर्काबिच झगडा गर्ने, बमको बर्ष गर्ने शक्तीसाली वा साना मुलुकहरु आज बिश्वभर झण्डै दुई सय १२ भन्दा बढी मुलुकमा प्रभावित गरिसकेको कोरोना भाईरस संक्रमणका कारण भावनात्मक रुपमा एकै ठाउँमा उभिएका छन् ।

त्यसैलेत कहिले काहीं COVID 19 संसारलाई नै पाठ सिकाउनको निम्ती रौद्र रुप धारण गरेर आएको जस्तो भान हुन्छ । संसारभरी नै अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षा निकायका अधिकारी, संचारकर्मीहरुलाई नमन् । अब पुष्ट भयो, पैसाको पछि मात्र दौडिने जिन्दगी, जिन्दगी रहेनछ । आफु पनि बाँचौं अरुलाई पनि बचाऔं ।

[email protected]