आर्थिक

स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रितलाई रु दश लाख

खोटाङ, १० वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई रु दश लाख दिने निर्णय गरेको छ । नगरपालिकाले भाइरसको रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि तयार पारी प्रोत्साहन भत्तासमेत प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख इवन राईले बताए ।

नगरकार्यपालिकाको बैठकले कोरोना रोकथाम तथा व्यवस्थापन गर्न नगरपालिकाबाट विनियोजित बजेट रकमान्तर गरेर नगरस्तरीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण, राहत वितरण तथा क्वारेन्टाइन सञ्चालनलगायत अत्यावश्यक स्वास्थ्य सामग्री खरीद गर्न बजेट नभएकाले अन्य शीर्षकको बजेट कोषमा जम्मा गरेर खर्च गर्ने तयारी गरिएको हो ।

नगरकार्यपालिकाको बैठकले अन्यत्रबाट घर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राख्न वडास्तरीय समन्वय समितिलाई जिम्मेवारी दिने, चैतयता घर आएका स्थानीयवासीलार्ई र्यापिड डाइग्नोष्टिक टेष्टका लागि अनिवार्य उपस्थित गराउन समन्वय गर्नेलगायत निर्णयसमेत पारित गरेको छ ।

यसैबीच जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकामा चैतयता विदेशबाट घर फर्किएर होम क्वारेन्टाइनमा बसेका २३ व्यक्तिमा सोमबार गरिएको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसबाट सङ्क्रमित १३ जना भेटिएको उदयपुर जिल्लासँग सिमाना जोडिएको उक्त नगरपालिकाले नाकामा हुने आवतजावतमा रोक लगाएको छ ।

छिमेकी जिल्लासँगै एक वडाबाट अर्को वडामा ओहोरदोहोर गर्नसमेत रोक लगाउन सबै वडालाई पत्राचार गरिएको नगरप्रमुख राईले बताएका छन् । दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म गरिएको आरडिटीमा सबै ९२ जनाको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिएका छन् ।

आरडिटीमा नेगेटिभ रिपोर्ट देखिएको हलेसी तुवाचुङ नगरपालिकाका पाँच र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन जनाको पिसिआर टेष्ट गर्न नमूना सङ्कलन गरेर कोशी अस्पताल विराटनगर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रदेश सरकारले १२० किट पठाएपछि विदेशबाट घर फर्किएका जिल्लाका १२० व्यक्तिको पहिलो चरणमा आरडिटी शुरु गरिएको जनाइएको छ ।

चैतयता विदेशबाट फर्किनेको सङ्ख्या अधिक रहेकाले थप किट तत्काल पठाउन सङ्घ तथा प्रदेश सरकार समक्ष माग गरिएको जनाइएको छ । तीन सय चार शय्याको क्वारेन्टाइन र १३ शय्याको आइसोलेशन वार्ड रहेको जिल्लामा अहिलेसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ९७ पुगेको छ । क्वारेन्टाइन बस्ने व्यक्तिलाई सम्बन्धित स्थानीय तहले खाना, खाजा र स्वास्थ्योपचारको व्यवस्था गरेका छन् ।