अन्तर्राष्ट्रिय

दिल्लीका सरकारी अस्पतालमा ‘मिडिया सेल’ स्थापना गरिने

एजेन्सी । नयाँ दिल्लीमा रहेका सरकारी अस्पतालमा अबदेखि सञ्चारमाध्यमले कामगर्ने कार्यकक्ष ९मिडिया सेल० राखिने भएको छ । मङगलबार नयाँ दिल्ली सरकारले यो आदेश दिएको थियो । नयाँ दिल्लीमा रहेका सबै सरकारी अस्पतालहरुले कोविड १९ बारेको समाचार र सूचना सम्प्रेषणका लागि यो आवश्यक रहेको भन्दै यहाँको सरकारले उक्त सेल स्थापनाको लागि आदेश दिएको थियो ।

सरकारको यो आदेशसँगै यहाँका अस्पतालहरुमा अब सूचना संकलन गरेर विस्तार गर्नका लागि यस्तो मिडिया सेलको स्थापना हुने भएको समाचारमा जनाइएको छ । यस्तो सेलबाट सम्पादन हुने सूचनाले सही रुपमा नागरिकसमक्ष कोभिड १९ बारेको जानकारी पुग्ने बताइएको छ ।

अहिले कोविड १९ का विषयमा सञ्चारमाध्यमहरुका साथै सामाजिक सञ्जालमा पनि विभिन्न खाले फरक फरक समाचार आएकोले नागरिकलाई दुविधा भएको भन्दै ती सबैखाले सूचनालाई एकै ठाउँबाट र सही मात्रामा सम्प्रेषण गर्ने यसले सहयोग पुग्ने दिल्ली सरकारले जनाएको छ ।

सोमबार नयाँ दिल्लीको एक सरकारी अस्पतालमा ज्वरो आएर पुगेका एकजना पुरुषलाई कोरोना भाइरसको त्रासले त्यहाँका चिकित्सकले उपचार गर्न नमानेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । ती पुरुषलाई चिकित्सकले शुरुमा कोरोनाको त्रासले छुनै नमानेका र पछि उनी यसका संक्रमित भएको पुष्टि भएपछि उपचार नपाएको उनकी छोरीले बताएकी छिन् ।

आफ्ना बुबाले भारतको राजधानीजस्तो नयाँ दिल्लीकै सरकारी अस्पतालमा पनि उपचार नपाएको भन्दै बोलेको भिडियो यहाँका सामाजिक सञ्जालमा व्यापक मात्रामा प्रचार प्रसार गरिएको थियो । त्यसपछि यस रोगसम्बन्धी समाचारहरुलाई व्यवस्थित र विश्वास गर्न योग्य बनाउनका लागि यस्तो अलग्गै मिडिया सेलको स्थापना गर्न नयाँ दिल्ली सरकारले आदेश दिएको थियो ।