समाचार

लकडाउनः आमाप्रति पिण्डदान र श्राद्ध गर्न लाग्ने मातातीर्थ मेला स्थगित

काठमाडौँ, ९ वैशाख । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा जन्म दिने आमाप्रति श्रद्धास्वरुप तर्पण, पिण्डदान, श्राद्ध गर्न लाग्ने मेला नहुने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण मेला स्थगन गरिएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिएका छन्। मातृ सम्मान दिवसका रूपमा मनाइने यस पर्वका अवसरमा आमा हुनेले घरमै मीठा चिजबिज खान एवं नयाँ कपडा लगाउन दिएर मनाउँछन् । सम्मान भाव प्रकट गरी मनाउँछन् ।

आमा नहुनेहरु भने राजधानीको पश्चिमी भेगमा रहेको मातातीर्थमा गई श्राद्ध, तर्पण, सिदादान गरी यो पर्व मनाउने प्राचीन परम्परा छ । वैशाख कृष्ण औँसीका दिन यहाँ लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । मातातीर्थ कुण्डमा स्नान गरी आमाको नाममा तर्पण, पिण्डदान एवं श्राद्ध गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । कुण्डमा दिवङ्गत आमाको मुखसमेत देखिने विश्वाससमेत भक्तजनमा छ ।

स्थानीयवासीलाई समेत मन्दिरमा गएर भीडभाड नगर्न भनिएको नगर प्रमुख गिरीले बताए । अवज्ञा गरी हिँड्नेलाई स्थलगतरूपमा रु १०० जरिवाना गरिने नगरपालिकाले जनाएको छ । बन्दाबन्दीमा निस्कनेबाट नगरपालिकाले हालसम्म जरिवानास्वरुप रु ७० हजार सङ्कलन गरिसकेको छ । मातातीर्थ संरक्षण समितिको नेतृत्वमा मन्दिरमा नित्यरूपमा हुने पूजाआजा भने जारी रहने उनले बताएका छन् । यस वर्ष वैशाख ११ गते बिहीबार आमाको मुख हेर्ने औँसी परेको छ ।

आकस्मिक बिरामीका लागि एम्बुलेन्स

बन्दाबन्दीका बेला आकस्मिकरूपमा अस्पताल जानुपर्ने तीन नगरपालिका र काठमाडौँ महानगरपालिकाको एक वडाका बिरामीका लागि एम्बुलेन्सको व्यवस्था गरिएको छ । राजधानीको उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका एवं काठमाडौँ महानगरपालिकाको वडा नं ३२ का आकस्मिकरूपमा अस्पताल जानुपर्ने बिरामीका लागि मूलपानी प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको हो । इलाका प्रशासन कार्यालय साँखुका प्रमुखको अध्यक्षतामा रहेको क्वारेन्टाइन व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ ।

उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला, क्यान्सरलगायत रोगका बिरामी नियमित अस्पतालमा परीक्षणमा जानुपर्नेमा सवारी नपाएको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको समितिका सदस्य सचिव एवं कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख लक्ष्मी कोइरालाले जानकारी दिएका छन् ।

कोरोना भाइरसको लक्षण देखिने बिरामीका लागि पनि यो सेवा उपलब्ध गराइने जनाइएको छ । गत चैत ११ गतेदेखिको बन्दाबन्दीका कारण राजधानीकै ग्रामीण भेगका बिरामी सवारीको अभावमा अस्पताल जान नसकी घरमै थलिनुपरेको गुनासोपछि यस्तो व्यवस्था गरिएको हो ।