समाचार

दुई महिनाकि सुत्केरीलाई उद्धार गरी राखियो क्वारेन्टाइनमा

बलेवा । पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ । रोल्पाको सुनछहारी गाउँपालिका ५ स्थायी घर भई पोखरामा मजदूरी गर्दै आएकि उनि आइतबार दुई महिनाको छोरा बोकी पैदल हिँडेर बागलुङ पुगेकि थिईन ।

उनिसंगै आएका सोही गाउँका अन्य ६ जनासहित उनलाई पनि पर्वत र बागलुङको सिमाना माल्ढुंगाबाट प्रहरीले उद्धार गरेर बागलुङ नगरपालिका –१ स्थित रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको छ । उनका श्रीमान् पनि सँगै छन् । उनीहरुलाई र्यापिड डायग्नोष्टिक टेष्ट गरेर सवारी साधनको व्यवस्था गरी रोल्पा पठाउने तयारी भइहेको छ ।

उनलाई आइतबार साँझ र सोमबार दिउँसोसम्मको खानाको व्यवस्था बागलुङ नगरपालिकाले गरेको नगर प्रमुख जनकराज पौडेलले बताए । पोखरामा घरबेटीले घरभाडा माग्न थालेको र दैनिक खर्च चलाउने उपाय नभएकाले हिँडेरै घर जान थालेको पीडित रवीना थकालीले बताए ।

क्वारेन्टाइनमा बस्दा कुनै समस्या नभएको उनको भनाइ छ । बागलुङमा उनिजस्तै ५२ मजदूरको आइतबार उद्धार गरिएको थियो । उनिहरु सबैलाई रामरेखा क्वारेन्टाइन र शान्ति समितिको भवनमा बनाइएको आश्रयस्थलमा राखिएको छ । सबैलाई गन्तव्यमा पुग्ने गरी सवारी साधनको व्यवस्था गरेर पठाउने तयारी थालिएको नगर प्रमुख पौडेलले बताएका छन् ।

पोखराका विभिन्न उद्योग तथा आयोजनामा काम गरिरहेका मजदूरहरु पैदल हिँडेर बागलुङ आइपुगेका हुन् । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा काम गर्ने काठमाडौँ र हेटौंँडाका मजदूरलाई पनि हिँड्दै गर्दा उद्धार गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताएका छन् । रोल्पा घर भएको बताउने १८ मजदूर पैदलै घर जान हिँडेको थाहा पाएपछि उद्धार गरिएको जिल्ला प्रहरी प्रमुख भट्टले बताए ।

पोखरास्थित विभिन्न विकास आयोजनामा काम गरेका आफूहरुले काम पाउन छाडेपछि घर फर्केको उनीहरुले बताए । ‘घर बनाउने, जाली चिन्ने जस्ता काम गरेका थियौं, लकडाउनले काम पाउन छाडेपछि हिँडेका हौंँ’ रोल्पा, गंगादेवी गाउँपालिका –५ का राजेन्द्रकुमार पुनले भने, ‘घरै गए खेती गरेर खाऔंँला ।’