प्रदेश 2

पोखरीको पानी खान बाध्य महोत्तरी जिल्लाको एक बस्ती

महोत्तरी । महोत्तरी जिल्लाको एक बस्तीको डोम समुदाय अहिले पनि पोखरीको पानी पिउन र अन्य प्रयोग गर्न बाध्य छ । आफूहरुलाई कथित ठूला जातिले तल्लो जात ठानी घर अगाडि रहेको कल (धारा) को पानी खान नदिएकाले पोखरीको पानी प्रयोग गर्नुपरेको सोनमा गाउँपालिका –५ को डोम समुदायकोे गुनासो छ ।

सय मिटर दूरीमा वडाध्यक्ष र ५०० दूरीमा प्रदेशसभा सदस्यको घर रहेको सो समुदायको घर अगाडि रहेको एउटा खानेपानी धाराको ह्याण्डल खोलेर स्थानीयवासी विजय यादवले लगेपछि डोम समुदाय पोखरीको पानी खान बाध्य भएको स्थानीयवासी लीला मल्लिक डोमले बताए ।नेपाल सरकारको ऐलानी जग्गामा बसोबास गर्दै आएका पाँच घरपरिवार डोम समुदायले सो बस्तीमा प्रदेश नं २ को सरकारको सहयोगमा जनता आवास बनाउन लागेपछि विजयले सो जग्गा पनि आफ्नो भन्दै विवाद गरेका छन् ।

विजयले गालीगलोजका साथ कुटपिट गर्ने धाकधम्की दिंँदै बस्तीभरिको एउटा मात्र कलको ह्याण्डल खोलेर लगेपछि उनीहरु पोखरीको पानी खान बाध्य भएको स्थानीयवासी अजय मल्लिक डोमले बताएका छन् ।
करीब एक कट्ठा जग्गामा डोमको पाँचभन्दा बढी पुस्ताले बसोबास गर्दै आएकामा अहिले त्यो स्थानीयवासी यादवको अतिक्रमणले गर्दा १५ धुरमा सीमित भएको छ ।

“अहिले सो जग्गामा पनि प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत डोमका लागि घर बनाइदिन लागेपछि विजयले सो जग्गा आफ्नो भन्दै कलको ह्याण्डल खोलेर लगेपछि पूरै डोम बस्तीले पोखरीको पानी खान थालेको छ”, अजयले भने ।

विजयले डोमहरुलाई कलमा छोए कुटपिट गर्ने र पानी खाए ठेगान लगाउने भन्दै धम्की दिएर गएपछि पूरै डोम बस्तीका सबै जनाले घर अगाडिकै फोहर पोखरीको पानी ल्याएर खाना पकाउने, पिउने र नुहाउने, लुगा धुने र गाईवस्तुलाई खुवाउने गरेको पीडित विजय मल्लिक डोमले बताए ।

चारैतिर यादव बस्तीका बीचमा पाँच घर मात्रै डोम समुदायका घर छन् । वडाध्यक्ष रामविनेक यादवले यसबारे कुनै चासो नदिएको पीडित डोमहरुले आरोप लगाएका छन् । प्रदेशसभा सदस्य कौशलकुमार यादवले पनि यसबारे आफूलाई कुनै जानकारी नरहेको बताउँदै आफूले यसबारे पहलकदमी लिने आश्वासन दिएका छन् ।

सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले पनि आफूलाई यस घटनाबारे जानकारी नरहेको र पत्ता लगाएर आवश्यक कदम चाल्ने विश्वास दिलाएका छन् । महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले घटनाबारे हालसम्म कुनै जानकारी वा जाहेरी नआएको बताउँदै आफूले बुझेर तुरुन्त कारवाही प्रक्रिया अगाडि बढाइने दृढता व्यक्त गर्रे ।