समाचार

धादिङ र डोटीमा चट्याङ लागेर तीनको मृत्युः सात घाईते

९ काठमाडौं बैशाख । धादिङ र डोटीमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य सात जना घाइते भएको छन् । सोमबार साँझ धादिङको थाक्रे गाउँपालिका ३ बालुवाखर्कमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ ।

अन्य ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । स्थानीय बिजुलीको ट्रान्सफरमरमा चट्याङ पर्दा लेक मल्डुङ, बेसी मल्डुङ र बालुवाखर्कका घरमा हाइ भोल्टेजको करेन्ट प्रभाव हुँदा दुर्घटना भएको हो । करेन्ट लागेर ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते उनीहरुलाई उपचारको लागि काठमाडौँ लैजाँदै लाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनीहरुलाई चार्जबाट मोबाइल झिक्दा र स्वीच अफ गर्दा करेन्ट लागेको प्रहरीको भनाई छ । गम्भीर घाइते एकको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको थाक्रे गाउँपालिका ३ का वडाध्यक्ष अमित घलेले जानकारी दिए। घाइते ६ जनाको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ।

त्यसैगरी डोटीको सायल गाउँपालिका ३ तोलेनीमा चट्याङ लागेर २२ वर्षीया उजली बयाडीको मृत्यु भएको छ । सोमबार दिउँसो आफ्नै खेतमा गहुँ काटिरहको अवस्थामा चट्याङ लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।