विचार/ब्लग

अति भईसक्यो, अब देशको मुहार र भ्रष्टाचारी नेताहरु फेर्ने बेला आयो

नबिन बिक, गोन्जाउ चीन/हाम्रो देश नेपाल कती सुन्दर छ, हिमाल, पहाड, तराई अनि बिभिन्न धर्म, जाति, भाषा र संस्कृतिले भरिपुर्ण छ। मुलुकको भौगोलिक अवस्थिगति हेर्दा जनसखया पनि खासै धेरै होईन । सानो परिवार, सुखी परिवार जस्तो हुन सक्थ्यो भने हाम्रो नेताहरुले ईमान्दारीताका साथ काम गर्दिएको भए, आज जनताले यसरी दुःख र सास्ती पाउने थिएनन्।

साठी बर्ष कटेपछि नेपाल सरकारले अब यसले काम गर्न सक्दैन, यो उमेरमा काम गर्ने उर्जा कम हुन्छ भनेर अनिवार्य अवकास दिन्छ, घरमा आराम गर, नाती नातिनी हेर भनेर तर हाम्रो देशमा त ६० कटेसी बल्ल राजनीतिमा चम्किन थाल्छन्, जसलाई आफ्नै खाना र औषधी खाएकी खाईन त हेक्का रहदैन । बृद्धलाई हप्तामा १–२ पटक त अस्पताल धाउनु पर्छ, सुगर, प्रेसर सहित अनेक रोगका धनी पितृभएका बुढाहरु जो यो उमेरमा एउटा साईकल हाक्न सक्दैनन्। त्यस्तै शारिरिक र मानशिक अवस्था कमजोर भएपनि तिनीहरु देश हाक्छु भनेर रस्सा कसी गरिरहन्छन्। राज्यको स्रोत, साधन र पदीय शक्तिको दुरुपयोग गर्दै, जापान, अमेरिका, सिंगापुर, थाईल्यान्ड सम्म पुगी शरिरको फेर्न मिल्ने अंगसम्म फेरेर, व्हिलचेयरमा वा बिस्तारामा लडेरै भएपनि सरकार हाक्न लालायित देखिन्छन् ।

यसो झट्ट हेर्दा राजकीय बृदाश्रम जस्तो देखीने मन्त्री मन्डलको एउटै मात्र योग्यता भनेको आन्दोलनमा क्रममा जेल बसेको, म १४ बर्ष जेल बसेको, म ८ बर्ष जेल बसेको, मेरो जिब्रोमा करेन्ट लाईदिएको, मेरो हातमा गोली लागेको, मेरो खुट्टामा गोली लागेको इत्यादी ईत्यादी ।

तपाईहरुले कुनै जमानामा देशको लागि आन्दोलन गर्नुभयो, जेल नेल खानुभयो, धेरै कष्ट पाउनुभयो हामी तपाईहरुको त्याग र तपस्याको हृदय देखी सम्मान गर्छौं। तपाईहरुले गर्नुभएको योगदान हामी सुनौला अक्षरले लेखर राख्ने छौ, तपाईहरुलाई आजीवन मन्त्री सरहकै मासिक तलब र सुबिधा दिउला, स्वास्थ्य उपचार सबै राज्यले बेहोर्ने ब्यबस्था गरौंला तर कृपया अबको नेतृत्व युवाहरुलाई छोडी दिनुस्।

बिदेशमा बस्ने नेपालीहरु बिकसित देशमा शिक्षा, ज्ञान, अनुभब र आर्थिक हिसाबले पनि अहिले नेपालका बाजेहरु भन्दा सयौंं गुणा अबब्ल छन्, उनीहरुमा भिजन छ, योग्यता छ, जोश र जाँगर छ, नासा, गुगल, माइक्रोसफ़्टमा नेपाली बैज्ञानिक र इन्जीनियरहरु छन्, अक्सफोर्ड, हावर्ड, एमआईटीमा नेपाली प्रोफेशरहरु छन्, अमेरिका, बेलायत र भारतको आर्मीमा नेपाली सैन्यबिज्ञहरु छन, अर्थशास्त्रीहरु छन्, सफल ब्यबसायी तथा उधमीहरु छन् । यीनीहरुमा एउटा कमी छ त केवल मौकाको, देशले एक चोटी मौका दिने हो भने यस्ता हस्तीहरु नेपाल फर्काएर ल्याउने हो भने देशले काँचुली फेर्न मात्र केही बर्ष लाग्ने छ।

नेपालमा बाढ़ी गयो भने बिदेशमा भएका नेपाली जनताले चन्दा उठाउनुपर्छ, गाँउ आगालागी भयो भनेपनी चन्दा उठाउनुपर्छ, भूकम्प गयो चन्दा उठाउनु पर्छ किनकी सरकार त हप्तादिन सम्म पनि पर्ख र हेर नीति लिएर कति क्षति हुन्छ अनि त्यही अनुसारको राहत कार्यक्रम बनाउने, त्यही अनुसारको आफ्नो खल्ती भर्ने मनसायले हिसाब किताब मात्रै गर्दै बस्छ । जनताको दुःख सबै भन्दा पहिला जनताले नै बुझ्छ, अहिले काठमांडूबाट पैदल हिडेर दाङ, नेपालगंज पुग्दा पनि जनताले नै खाना पानी र गाडीको ब्यबस्था गरेका छन्, सबैकुरा हामी जनताले नै गर्नुपर्ने भए ज्येष्ठ नागरीकको झुन्डको सरकार किन चाहियो? यो सरकारको के औचित्य? बिदेशमा कोही श्रमिक मर्दा महिनौ हस्पिटलमै सडेर बस्नु पर्छ । त्यो लास ल्याउन फेरी चन्दानै उठाउनु पर्छ। हामी नेपालीहरुले सरकार भएको कहिल्यै प्रत्याभूति गर्न पाईएन, के देश हरिकंगाल भै सकेको हो ? टाट पल्टिएकै हो त? देशमा केही बिपद आईलाग्दा २–४ अरब खर्च गर्नै नसक्ने भैसकेको हो ? प्रधानमन्त्री राहत कोष र श्रम तथा रोजगार मन्त्रालयमा रहेको अर्बौंं रुपैया कहिलेको लागी साँचेको ? कि मरे पछि त्यै पैसै पैसाको चितामा जलेर अर्कों क्रमभंग गर्ने सोच छ? हैन भने त्यो पैसा तुरुन्त निकालेर देश र बिदेशमा रहेका नेपालीको दुखमा मलम लगाउ।

देशको हर क्षेत्रमा राजनीति घुसाएर र आफ्ना कार्यकर्ता घुसाएर देशको ठुला ठुला सरकारी कलकारखाना कम्पनीहरु बन्द गरेको पनि दशकौंं भैसक्यो, भएन भनेर प्राइवेट सेक्टरका होटल, कलकारखाना समेत छोडेनन् र बिचमै धराशयी बनाएर बन्दगरिएको अवस्था छ। आयात र निर्यातको ग्राफ हेर्ने हो भने कहाली लाग्दो छ। अनि देशको अर्थतन्त्र कसरी चलेको छ त? धन्न नेपालीहरु संसारको श्रम बजारमा बेलैमा निर्यात भएका थिए र यो अर्थतन्त्र चलेको छ, देश जेनतेना चलेको छ नत्र यी भ्रष्टहरुले देशै बेचेर भए पनि आफ्नो जोहो गर्ने थिए । बिदेशमा बस्ने नेपालीहरुको कमाईले देशको अर्थतन्त्रको ठुलो हिस्सा धानेको छ तर बिड्म्बनाको कुरा आज कुनै नेपाली यो महामारीको बेलामा आफ्नो देश फर्किन पाउँ भनेर रोई कराई गरेर बिन्ती र हार गुहार गर्नु परेको छ तर सरकार भन्छ हुदैन त त्यतै बस बाँचे आउलास् नत्र त्यतै मर। अब यसरी कहिले सम्म चल्छ? अब देशको मुहार र भ्रष्टाचारी नेताहरु फेर्ने बेला आएको छ, त्यसैले अब हामीले देश चलाउनको लागि आवस्यक पर्ने रेमिट्यान्स मात्र हैन, देश चलाउन सक्ने प्रधानमन्त्री, मन्त्री र बिज्ञहरु पनि नेपाल पठाउन पर्ने बेला आएको छ ।
(लेखक एनआरएनए चीनको तर्फबाट केन्द्रीय सदस्य तथा एक सफल ब्यबसायी हुन् ।)