– सरिता ढकाल -कबिता
हिजो बाइबाइ भन्दै
हल्लाएका हातहरु
पर्खाइमै थाके होलान्
आकासमाथिका गुनुनु आवाज
सुस्तरी मन्द भए होलान्
विलिन भए होलान्
सुस्केराहरु थाकेर
भारी बिसाउदै होलान्
चराबचेँराहरु
खुल्ला आकास खोजी रहे होलान्
रुखहरु
पालुवाहरू फेर्दै र फूलहरू फुलेर
परदेशीहरू पर्खदै होलान्
खहरेहरु
फेरि गर्जने तरखर गर्दै होलान्
परदेशीहरूको स्वागत गर्न आतुर हुँदै होलान्
रहरहरु सपना जस्तै बन्दी बनेर
खुसीको पर्खाइ खोजी रहेछन्
यता बिछोड को हुट–हुटिले
कति डेरा जमायो होला
कति चङ्गाहरु
पर्देसतिर चुडी सके होलान्
कति त चुडिएको धागो समाउँदै
जीवन! एक भोगाइ र अनेक परिधिका
पेरिमिटरभित्र परेको छ आज
मानब कस्तो बिदाइ गरेउ तिम्ले
त्यही दिनबाट हुरी चल्यो
विज्ञानको प्रयोगशालामा
सन्नाटा छायपछि
कथाहरु पनि सत्त्य लाग्न थाल्यो
राइट दाजुभाईले
बनाइ दिएका बाटामा
वायु–यान बिश्राम लिइरहेछ
भूगोल! सबै रामराज्य भएको छ
तर पनि
तिमीले हेर्ने जुन फेरिएको छैन
घाम पनि फेरिएको छैन
आकास पनि त्यही हो
तर खुशीहरु मात्र चुँडिएका छन्
आशा गरौँ
सिंगो क्षितिजपारिबाट
अनगिन्ती रहरहरु फिर्ता गर्ने
बिज्ञानको प्रयोगशालाले
चमत्कार गरेको दिन
सम्पूर्ण मानवहरूका
खुसीका पलहरु फर्कने छन्