कर्णाली प्रदेश

जुम्लामा पाँच हजारको स्वास्थ्य परीक्षण

खलङ्गा, ८ वैशाख । जुम्लाका आठ स्थानमा राखिएका स्वास्थ्य सहायता कक्षामा आइतबारम्म पाँच हजार एक सय ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । कोभिड –१९ को संक्रमण ध्यानमा राखी यहाँका तिला, हिमा, सिंँजा, कनकासुन्दरी, तातोपानी, गुठिचौर, पातारासी र चन्दननाथमा स्थापित कक्षमा स्वास्थ्य परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताएका छन् ।

जिल्लाभर २६३ जना १४ दिनको क्वारेन्टाइन अवधि पूरा गरेर घर फर्किसकेका छन् । हाल १३ पुरुष मात्र क्वारेन्टाइनमा रहेको र जिल्लाका ३३९ जनाको स्वाब पिसिआर परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बञ्जाडेले बताए ।

पाँच सय सवारीसाधन कारबाहीमा

लकडाउन पालाना नगर्ने करीब पाँच सय सवारीसाधन जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रण लिई कारवाही गरेको छ । मोटरसाइकल ४३० र चारपाङ्गे्र ८३ सवारी साधन प्रहरीले नियन्त्रण लिएको जनाइएको छ । सम्बन्धित निकायबाट जारी गरेको पास लिएका सवारी साधनबाहेक अरुमाथि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालबहादुर धामीले बताएका छन् ।

घरघरमा जनप्रतिनिधि

जिल्लाका आठ स्थानीय तहका जनप्रतिनिधि कोराना भाइरसविरुद्ध सेवा प्रवाह गर्न घरदैलामा पुगेका छन् । यहाँका एक नगरपालिका र सात गाउँपालिकाका जनप्रतिनिधि कोभिड–१९ फैलिन नदिन सक्रिय नभई लकडाउनका कारण काम गर्न नपाएका मजदूर एवं न्यून आयस्रोत भएका स्थानीयबासीलाई र घरघरमै पुगेर राहत वितरण गर्ने गरेको हिमा गाउँपालिका वडा नं १ की नन्ददेवी सार्कीले बताए ।

कोरोनाविरुद्ध वडाबासीलाई चेतना दिन वडाध्यक्षको नेतृत्वमा चार सदस्यीय टोली परिचालन गरिएको तिला १ का वडाध्यक्ष प्ररबहादुर रावतले बताएका छन् ।