बाग्मती

अलपत्र परेका मजदुरको निरन्तर उद्धारः मन्त्री जम्कट्टेल

हेटौंडा, ८ वैशाख । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले लकडाउनका कारण अलपत्र परेका मजदुरको निरन्तर उद्धार भइरहेको जनाएका छन् ।

आफू मजदुरको पक्षमा लडेको र निरन्तर लडिरहने जनाउँदै उनले अनेकन बाधाका बीच पनि मजदुरको व्यवस्थापनमा रातदिन नभनी जुट्दा समेत केही सञ्चारमाध्यमले आफूलाई सुविधाभोगीको बिल्ला भिराउन खोजेकामा चिन्ता प्रकट गरेका छन् ।

उनले प्रदेश सरकारले निर्णय नै गरेर अलपत्र यात्रुहरुको उद्धार गर्ने काम गरिरहेको सन्दर्भमा गलत सोच राखेर जनतामा भ्रम सिर्जना नगर्न आग्रह गरेका छन् । उनले आफूले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गत चैत १८ गतेदेखि उपत्यका छाडेर हिड्न थालेका मजदुरलाई नरोक्न र गन्तव्यमा लान सघाउन निर्देशन दिएको र कतिपय अवस्थामा सवारी साधनको व्यवस्था नै गरेर मजदुरलाई प्रदेशको सिमासम्म पुर्याएको उल्लेख गरे ।

मन्त्री जम्कट्टेलले आफू खेतीपातीको समय भएकाले मजदुरहरु आआफ्नो घर फर्कनै पर्छ र उनीहरुलाई फर्काउन सरकारले पहल गर्नै पर्छ भन्ने पक्षमा रहेको बताएका छन् ।

“सरकारकै योजनाअनुसार प्रदेशका मुख्यमन्त्री स्वयम् स्थलमा जानुभएको छ, म पनि स्थलमै छु, सरकारका सबै निकाय, स्थानीय तह सबै लागेका छन्, कसैलाई भ्रम नहोस्” मन्त्री जम्कट्टेलले भने ।