कर्णाली प्रदेश

दैलेखमा ३०२ जनाको रिपोर्ट नेगेटिभ

दैलेख, ८ वैशाख । कोरोना भाइरसको शीघ्र निदानात्मक परीक्षणमा जिल्लामा ३०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारत र तेस्रो मुलुकबाट दैलेख आउनेलाई पहिलो प्राथमिकतामा राखेर र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख निरञ्जन पन्थले बताएका छन् ।

विभिन्न पालिकाबाट पठाइएका ८८ स्वाब सङ्कलनको पनि रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसैबीच जिल्ला प्रहरी र प्रशासन कार्यालयले लकडाउन उल्लंघन गरेर सवारी साधन चलाउने नौ जनालाई जरिवाना तिराएको जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिबहादुर वलीले बताएका छन् ।

सङ्क्रमित र ती आएको सवारी साधन सूक्ष्म रूपमा खोजी गर्दै क्वारेन्टाइनमा राख्ने र स्वाब परीक्षण गर्ने कार्यलाई यहाँका स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय सरकारले तीव्र पारेका छन् । दैलेखमा निर्माण गरिएका ९५० क्वारेन्टाइनमा अहिलेसम्म सात जना मात्र बसेका छन् ।