प्रवास

विदेशमा अलपत्र नेपालीलाई फर्कनका लागि वातावरण तयार गर्न एनआरएनको माग

७ बैसाख, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल नेपाल फर्कनका लागि आवश्यक वातावरण तयार गर्न नेपाल सरकारसमक्ष माग गरेको छ ।

एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोको नेतृत्वमा आज एक प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई छबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै खानाबस्नकै समस्या भोग्नेका लागि खाद्यान्नलगायत अत्यावश्यक वस्तु वितरण गर्न र विदेशबाट फर्कनेहरुलाई नेपालमा पुनःस्थापना गर्न माग गरेको छ ।

एनआरएनले अप्ठेरामा परेका र नेपाल फर्कन अति आवश्यक भएकाहरुका हकमा कुनै उपाय गरी स्वदेश फर्काउने वातावरण बनाउन तथा फर्केपछि अनिवार्य निश्चित समय क्वारेन्टाइन र सेल्फ आइसोलेशनमा बस्ने व्यवस्था गर्न आग्रह गरेको एनआरएन, कोभिड– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

हाल खानाबस्नकै समस्या भोग्नेका लागि आफू र सम्बन्धित नेपाली नियोगसमेतको समन्वयमा खाद्यान्नलगायत अत्यावश्यक वस्तु वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै एनआरएनले सरकारले राख्ने रकमको अनुपातमा एक हिस्सा राख्न आफू पनि तयार रहेको जनाएको छ ।

विदेशबाट फर्कनेमध्ये आईसोलेशनमा रहने अवस्थामा मनोचिकित्सकको समेत सल्लाह पाउन सक्ने व्यवस्था मिलाउन र उनीहरुलाई नयांँ उद्योग व्यवसाय शुरु गर्न आवश्यक सूचना प्रवाह हुने र जानकारी दिने व्यवस्था मिलाउन एनआरएनले ध्यानाकर्षण गराएको छ ।

फर्कनेहरुलाई नेपालमा पुनःस्थापना गर्न र रोजगार वा स्वरोजगारमा लाग्न उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याउन, तिनको सीपको विवरण संकलन गरी नेपालमा प्रयोग गर्ने गरी सीप बैंकको स्थापना गर्न र यसको विवरण नेपाली उद्यमी व्यवसायीलाई उपलब्ध गराउन माग गरिएको छ । नेपालमा फर्कनेका लागि सस्तो ब्याजमा ऋण पाउने व्यवस्थाका साथ मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न पनि आग्रह गरिएको छ ।

विदेशमा जानेले सिकेको सीपका आधारमा आफ्नै व्यवसाय शुरु गर्न चाहनेहरुलाई मद्दत गर्ने कार्यक्रम एवं तिनलाई सहज र सस्तो ब्याजमा ऋण पाउने व्यवस्था मिलाउन तथा मुख्यतः कृषिको आधुनिकीकरणका क्षेत्रमा प्रयोग गर्ने नीति लिन सुझाव दिइएको छ ।

प्रतिनिधिमण्डलमा एनआरएनका उपाध्यक्ष सोनाम लामा, बहराइनका पूर्वाध्यक्ष श्याम तामाङ, प्रमुख कार्यकारी अधिकृत हेमन्त दवाडीलगायतको सहभागिता थियो । यसैबीच एनआरएनअन्र्तगतको कोभिड–१९ उच्चस्तरीय समितिका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आज टेलिकन्फ्रेन्समार्फत बसेको बैठकले विदेशस्थित नेपाली नियोग र नेपाल सरकारबीच आवश्यक छलफल गर्दै राहत वितरणलाई तीव्रता दिने निर्णय गरेको छ । बैठकमा पूर्वशिक्षामन्त्री गंगालाल तुलाधारलगायत समितिका सदस्यको सहभागिता थियो ।