समाचार

कोरोना परीक्षणमा ३४१ को नतिजा नेगेटिभ

६ बैशाख, भक्तपुर । कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेका भक्तपुरका ३४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङ्क्रमण फैलिएका देशबाट स्वदेश फर्केकासहित भक्तपुरका ४५७ जनाको कोरोना परीक्षणमा १६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिएका छन् ।

भक्तपुर अस्पतालले शुक्रबार एकै दिन विदेशबाट फर्किएका ४९ जनाको कोभिड–१९ परीक्षण गरेकामा सबैको र्यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको छ । आठ जनाको स्वाब नमूना सङ्कलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको उनले जानकारी दिएका छन् । डा गौतमले एक जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको जानकारी दिएका छन् । अस्पतालले आइसोलेसन वार्डलाई बढाएर २१ श्ययाको व्यवस्था गरेको उनले जानकारी दिएका छन् ।

त्यस्तै भक्तपुर नगरपालिकाले नगरभित्र लकडाउनको समयमा पनि भीडभाड हुन थालेपछि प्रहरीसँगै स्वयंसेवक परिचालन गरेको छ । नगरभित्र अत्यावश्यक किनमेलको समयमा पनि पासबाहेकमा मानिस घरबाहिर निस्किएपछि स्वयंसेवक परिचालन गरी टोलटोलमा खटाएको हो । एउटा वडामा ५० जना खटाएको छ भने आवश्यतानुसार परिचानका लागि ज्याकेटसहितका ५०० भन्दा बढी स्वयंसेवक तयारी अवस्थामा रहेको छ ।

स्वयंसेवकले स्थानीय भाषामा नै सम्झाइबुझाइ गरी अत्यावश्यक सामान किनमेलको लागि स्थानीयलाई नगरपालिकाले दिएको पासका आधारमा मात्र पठाउने र तरकारी बजार व्यस्थापन गराउने गरेको नगरप्रमुख प्रजापतिले जानकारी दिएका छन् । यसबाहेक नगरपालिकाले स्थानीय भाषामा प्रत्येक दिन माइकिङ गरी कोरोनासम्बन्धी जनचेतना जगाउँदै घर बाहिर ननिस्कनसमेत आग्रह गरिएको छ ।

एसइई परीक्षाका लागि भर्चुअल कक्षा सञ्चालन

भक्तपुर नगरपालिकाले कक्षा १० का एसइईका विद्यार्थी लक्षित गरेर भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले कोरोना सङ्क्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्न एसइई लक्षित भर्चुअल कक्षा भादगाउँ टिभीमार्फत प्रसारण गर्ने जानकारी दिएका छन् । नगरपालिकालले एसइई परीक्षाका लागि अङ्ग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिकलगायत अनिवार्य विषयको कक्षा सञ्चालन गर्ने भएको छ ।