खेलकुद

आईसीसीको टी–ट्वान्टी खेलाडी वरीयताः पारस र सन्दीप यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी खेलाडी वरीयतामा नेपाली खेलाडी यथावत रहन सफल भएका छन् ।

आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार पूर्व कप्तान पारस खड्का, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीको वरीयता यथावत रहेको हो ।

ब्याटिङतर्फ पारस ७५ औं स्थानमा रहेका छन् । अघिल्लो पटक १२ स्थान तल झरेका पारसको वरीयता यस पटक भने यथावत रहेको हो ।

नेपालका ग्लोबल आइकन सन्दीप बलिङ वरीयताको ८४ औं स्थानमा रहेका छन् । यस अघि पनि सन्दीप ८४ औं स्थानमा रहेका थिए ।

पारसको अलराउण्डरतर्फको वरीयता पनि यथावत रहेको छ । नयाँ वरीयतामा पारस २६ औं स्थानमा छन् । अलराउण्डरतर्फ नै सोमपाल ७३ औं र करण ८८ औं स्थानमा रहेका छन् । टी–ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ । यस्तै, एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।