उर्जा

चट्याङले विद्युत् बिग्रिएपछि पात्लेबस्ती अन्धकारमा

ओखलढुङ्गा । चट्याङले पेल्टिसेटमा क्षति पुर्याएपछि पात्लेको एउटा बस्ती अन्धकारमय भएको छ । बिहीबार दिउँसो असिनापानीसँगै परेको चट्याङले पेल्टिसेटमा क्षति गरेपछि जिल्लाको मोलुङ गाउँपालिका–७ पात्लेमा विद्युत् सेवा अवरुद्ध भएको हो ।

गाउँका ११० घरधुरीले प्रयोग गर्दै आएको स्थानीय छाङगे खोला पेल्टिसेट चट्याङले बिग्रिएपछि अन्धकारमा बस्न बाध्य हुनुपरेको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिएका छन् । लकडाउनका कारण मेसिन बनाउन लैजाने अवस्था नभएकाले अवरुद्ध विद्युत् सेवा सञ्चालन गराउन समस्या भएको उनको भनाइ छ ।

सोही दिनको चट्याङले स्थानीयको सोलार ब्याट्रीमा समेत क्षति पुगेको छ । स्थानीय वीरबहादुर मगर, गङ्गाबहादुर मगर र ङावाशेरे शेर्पाको घरमा रहेको सोलारको ब्याट्री जलेपछि वैकल्पिकरूपमा प्रयोग गरिँदै आएको सोलारले समेत काम नगरेको स्थानीयवासी वीरबहादुर मगरले बताएका छन् ।

विगतमा टुकी बत्तीको प्रयोग गरिने भए पनि अहिले मट्टितेलको जोहोे नभएको र टुकी बत्तीको समेत चलन हराएकाले स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।