आर्थिक

एक्सपर्टको छुट्यायो अप्ठेरो परेकालाई दुई लाख अष्ट्रेलियन डलरको राहत कोष

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने छात्र/छात्रालाई परामर्श दिने अग्रणी संस्था एक्सपार्टले २ लाख अष्ट्रेलियन डलरको राहत कोष स्थापना गरेको छ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजद्वारा संञ्चालित सो फाउण्डेसनले कोभिड –१९ को जोखिमले समस्यामा परेका छात्र/छात्रालाई सहयोग गर्न सो कोष सञ्चालनमा ल्याएको एक्सपर्ट चितवन शाखाका प्रवन्धक निर्देशक डिल्लराम अधिकारीले जानकारी दिए ।

उनले कोभिड –१९ को जोखिमले अस्ट्रेलियामा अध्ययनरत नेपाली छात्र/छात्रालाई पर्न सक्ने तत्कालीन र दीर्घकालीन असरलाई न्यूनीकरण गर्ने ध्येयले सो कोष स्थापना गरेको बताए । उनका अनुसार सन २०१९ को अक्टोबर १ पछि आफ्नो संस्थामार्फत अष्ट्रेलिया गएका छात्र/छात्रालाई प्रतिव्यक्ति किनमेलका लागि २०० देखि ३०० डलर सम्मको भौचर नै सहयोग गर्ने छ । यसका लागि एक लाख ५० हजार डलर छुट्याइएको छ ।

अन्य समस्यामा परेका छात्र/छात्रालका लागि ५० हजार डलर छुट्याईएको प्रबन्धक अधिकारीले जानकारी दिए । एक्सपर्ट फाउण्डेसनले विज्ञप्ति जारी गरि समस्यालाई केही हद सम्म भए पनि सहज वनाउनका लागि कोष स्थापना गरिएको जनाएको छ ।

“विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीले जनस्वास्थ र अर्थतन्त्रमा नै गहिरो प्रभाव पर्न गई मानव जगत नै अहिले असहज परिस्थितिबाट गुज्रनुपरेको अवस्थामा हामीले हाम्रो दायित्वलाई पूरा गरेका हौं । ” विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो छ महिनायता अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आएका र रोजगारी गुमाएका छात्र/छात्रालाई पहिलो प्राथमिकतामा राखिने र अन्य समस्यामै परेकालाई पनि मूल्याङकनका आधारमा सहयोग गरिने योजना अनुसार कोष स्थापना गरिएको बिज्ञप्तिमा जनाइएको छ । एक्सपर्टले सन २००३ देखि नेपाली विद्यार्थीलाई परामर्श दिने काम थालेको हो । नेपालका विभिन्न शहरमा कार्यालय रहेको एक्सपर्टको अष्ट्रेलियाका मुख्य शहरहरुमा पनि कार्यालय रहेका छन् ।