विचार/ब्लग

कोरोना नामको बिष निवारणका लागि प्रार्थना गरौं (बिधिसहित)

बिश्वप्रकाश पण्डित/

जय श्रीसीताराम!
आदरणीय मानव समूदाय,
वीगत केही समय देखि मनुष्य मात्रका लागि डरलाग्दो चूनौति बनेर बिश्वव्यापी बनिरहेको ‘कोरोना भाइरस’ ले यतिबेला सम्पूर्ण बिश्वनै पक्षाघात् भएर ओच्छ्यान् परेको छ । भौतिक् विज्ञान निरीह बनेर टुलुटुलु हेर्दै बस्न बाध्य भएको छ । भोगवादी संस्कृतिलाई नै जीवनको अर्थ मान्नेहरू बडो टिठलाग्दो अनुहारले ‘योग’ तर्फ एकोहोरिँदै दूर्लभ मनुष्य जीवनको लागि सुरक्षा कवच् खोजिरहेका छन् । यतिबेलाको मान्छे बाँच्ने जिजिविषाका कारण आफ्ना संपूर्ण अहङ्कारबााट मुक्त भएर ‘मान्छे’ नै हुने सङ्कल्प तर्फ अग्रसर हुन खोज्दैछ । उसको यो सङ्कल्प पूर्वीय दर्शनको पूनर्जागरणको सङ्कल्प पनि हुनेछ । त्यसैले आउनुहोस्, यो कोरोना नामको बिष निवारणका लागि ‘कालकुट’ जस्तो ‘महाबिष’ का संहारक उनै रूद्रलाई प्रार्थना गरौं ।

यसका लागि-
नव वर्ष २०७७ को पहिलो साँझ अर्थात् २०७७ बैशाख १ गतेको साँझ ५.३० बजे आ-आफ्नै निवासमा बसेर प्रज्वलित अग्निमा ‘महामृत्युण्जय मन्त्र’ ले ११०० को संख्यामा आहुति र हवन गरौँ।
यो हवनका लागि अग्नि स्थापन आदि कुनै कर्मकाण्डीय विधि अनुशरण गर्न आवश्यक छैन ।
हवन सामगृको हकमा, सम्भव भएसम्म निम्नलिखित द्रव्यहरूलाई बराबरको परिमाणमा मिश्रण गरेर तयार गर्ने

(क) कपुर, ब्राह्मी, तुलसी, गिलोय, जाइफल, अगर, तगर, तिल, इन्द्र जौ, अमला, मालकांगनी, हरिताल, तेजपात, सेतोचन्दन, हल्दी,
जटामसी, सालधूप, लोहवान, गुग्गुल, निमको पात, मरिच्, पहेँलो सरस्यूँ र गाईको घ्यू ।

(ख)उपरोक्त बमोजिमका सबै सामानको व्यबस्था हुन नसकेमा जे जे उपलब्ध हुन सक्छ तिनै सामगृबाट गर्ने ।

(ग) माथि ‘ख’ मा उल्लेख भए अनुसार पनि हुन नसकेमा बेसार,तिलर र घ्यू को बराबरी मिश्रणबाट सामगृ तयार गर्ने

(घ) माथि ‘ग’ मा उल्लेख भए अनुसार पनि सम्भव नभएमा
धूप मात्र निरन्तर बालिरहेर ‘महामृत्युण्जय मन्त्र’ले११०० पटक जप गर्ने

मन्त्रः-

ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात् ।

प्रस्तुत मन्त्रमा भगवान त्र्यम्बक शिवजी सँग प्रार्थना गर्दै भनिएको छ कि-

दिव्य गन्धले युक्त, मृत्युरहित, धन-धान्यवर्धक, त्रिनेत्र रुद्रको म पूजा गर्दछु । ती रुद्रले मलाई अपमृत्यु र संसाररुप मृत्युबाट मुक्त गरिदिऊन् । जसरी ककडीको फल पाकेपछि डाँठबाट छुट्दछ त्यसैगरी मलाई पनि मृत्युबाट छुटाइदिउन्ः तर अभ्युदय र निःश्रेयसरुप अमृतसँगको मेरो सम्बन्ध भने कहिल्यै नछुटोस् ।

सबैलाई भगवान आशुतोषको कृपा प्राप्तहोस् ।

(आध्यात्मीक ब्यक्तीत्व पण्डित नेपाल सरकारका पूर्व सचिव हुन् ।)