शिक्षा

अनलाइन प्रविधिबाट शिक्षक सङ्गठनको स्थापना दिवस

काठमाडौं । नेपाली शिक्षकहरुको पहिलो सङ्गठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले अनलाइन प्रविधिको माध्यमबाट आफ्नो ४१ औँ स्थापना दिवस मनाएको छ । कोरोना भाइरसको रोकथामका लागि लकडाउन जारी भएका कारण सो दिवस भर्चुअलरुपमा मनाइएको हो ।

‘सदैव अडिग पेशागत स्वाभिमान, मूल्य र मान्यताः कोभिड १९ विरूद्धको युद्धमा सक्रिय सहभागिता’ को नारासहित मनाइएको दिवसमा भिडियो कन्फ्रेन्स र सन्देश आदान प्रदान गरिएको छ । विस। २०३६ जेठ २ गते मकवानपुरको भुटनदेवी माविमा भएको भेलाले बद्रीप्रसाद खतिवडाको नेतृत्वमा सो सङ्गठनको स्थापना गरेको थियो भने सोही वर्षको चैत २९ गते तत्कालीन सरकारले सङ्गठनको विधान स्वीकृत गरेको थियो ।

शुभकामना आदानप्रदानसहित शिक्षक आन्दोलनको इतिहास र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न सङ्गठनले अगुवाहरुसहितको छलफल आयोजना गरेको सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले जानकारी दिएका छन् ।

अध्यक्ष र्शा धादिङबाट, पूर्व अध्यक्ष एवं नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापा र संस्थापक अध्यक्ष खतिवडा ललितपुरबाट, महासचिव हंशबाहादुर शाही केन्द्रीय कार्यालयबाट र अन्य पदाधिकारीसहित १०० जना आफ्नो आफ्नो स्थानबाट सहभागी भएका थिए ।

जुम मिटिङ प्ल्याटफर्क र फेसबुक मेसेन्जर प्रयोग गरी कार्यक्रम गरिएको थियो ।
हाल मुलुकका करिब चार लाख शिक्षकहरु कार्यरत छन् ।