पु.समाचार

गंभीर समयमा उपत्यका बाहिर जाने निर्णय कसरी हुनसक्छ? समाचार गलतः उपप्रम पोख्रेल

काठमाडौं । शुक्रबार र शनिबार उपत्यका बाहिर जाने निर्णय भएको भनि आएका समाचारहरु असत्य भएको सरकारले बताएको छ । उपप्रधान एवं रक्षा मन्त्री ईशवर पोख्रेलले एक बिज्ञप्ती जारी गर्दै काठमाडौं बाहिर जाने सरकारले गरेको निर्णय गलत भएको बताएका छन् । उनले एक बिज्ञप्ती जारी गर्दै उक्त कुरा बताएका हनु् ।

कोभिड–१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोख्रेलको विज्ञप्तीः

भोली र पर्सी २८–२९ चैत्र, २०७६) काठमाण्डौं प्रवेश गर्न नपाइने तर काठमाण्डौंबाट बाहिर जान भने खुला गर्ने निर्णय गरिएको‘ भन्ने समाचार सार्वजनिक संचार माध्यमहरू खासगरी सामाजिक संजालहरूमा आइरहेको सन्दर्भमा‘ नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति ‘ को गंभीर ध्यानाकर्षण भएकोछ । यस किसिमको कुनै निर्णय नभएको , कोभिड-१९ को संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गंभीरताका साथ महसूस गरी ‘वन्दावन्दी’ (लक डाउन) लाई जारी राखिएको, सम्माननीय प्रधानमन्त्री ज्यूले देशवासीहरूका नाममा हालै गर्नुभएको संवोधनमा समेत यसको आवश्यकतालाई गंभीर रूपमा उठाइएको कुरा हामी सबैले सुनेका बुझेका छौं । यो कामलाई सरकारले मात्र नभएर आम नेपाली नागरिकहरूको पनि त्यत्तिकै महत्वका साथ लिनुपर्ने आवश्यकता छ । यस्तो गंभीर परिस्थितिमा त्यस किसिमको निर्णय कसरी हुनसक्छ ? जेसुकै कारणले भए पनि सार्वजनिक गरिएको उक्त समाचारमा सत्यता नभएको जानकारी गराउँदछु ।

-ईश्वर पोखरेल
संयोजक
‘ कोभिड-१९’ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति