राजनीति

उच्च स्तारीय संयन्त्र निर्माणका लागि नेकपा अध्यक्ष दहाल सकारात्मकः संयोजक मिश्र

काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आज नेकपा अध्यक्ष पुष्पकमल दहालसँग कुराकानी गरेका छन् । केहीदिनअगाडीमात्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा गरेका संयोजक मिश्रले आज पुर्ब प्रधानमन्त्री समेत रहेका नेकपा अधयक्ष प्रचण्डसंग कुरा गरेका छन् ।

संयोजक मिश्रले पछिल्लो राजनीतिक परिप्रेक्षलाई हेरेर उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्न गरेको प्रस्तावलाई अध्यक्ष दहालले समयसापेक्ष भएको बताएको संयोजक मिश्रले बताएका छन् । उनले विश्व स्वास्थ्य संगठनका प्रमूखले पनि हरेक देशमा राजनीतिक दलहरूलाई पार्टीगत स्वार्थबाट माथि उठेर कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका काममा लाग्न सबैलाई दिएको सुझाव अनुसार अगाडी बढ्नुपर्ने बाध्यता अनुसार संयोजक मिश्रले अधयक्ष दहालसँग उक्त प्रस्ताव गरेको जिकिर गरेका छन् ।

संयोजक मिश्रले, ‘बल्लबल्ल बसेको यहाँहरूको सचिवालय बैठकमा बर्तमान अवस्थामा समेत पार्टीभित्रको आन्तरिक कलहमा धेरै समय व्यतित भएको खबरहरू बाहिर आए। आम सर्वसाधारणलाई त्यसले निराश बनाउँछ। अहिलेको अवस्था भनेको एकवद्ध भएर कोरोनाको कहरसँग लड्ने समय हो ।’ भन्ने सुझाव पनि दिएका थिए ।

उनले सामाजिक संजालमा अध्यक्ष दहालसँग भएका कुराकानीका महत्वपूर्ण बिषयहरु राखेका छन्, जस्ताको तस्तैः
“नेकपा अध्यक्ष प्रचण्डसँगको संवाद”

कोरोना संकटको संभाव्य चौतर्फी, दूरगामी असर र त्यसलाई संवोधन गर्नमा सरकारको काम गराईको शैलीमा देखिएका गम्भिर समस्याका कारण सबैलाई जस्तै मलाई पनि चिन्ता लाग्नु स्वभाविक हो।

त्यसै सिलसिलामा हिजो नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग फोनमा कुराकानी गरेको थिएँ, जसबारे मैले लेखिसकेको छु।

आज सत्तारूढ दलका एकजना अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरेँ। उहाँलाई मैले दुईवटा आग्रह गरेँ।

पहिलो, बल्लबल्ल बसेको यहाँहरूको सचिवालय बैठकमा बर्तमान अवस्थामा समेत पार्टीभित्रको आन्तरिक कलहमा धेरै समय व्यतित भएको खबरहरू बाहिर आए। आम सर्वसाधारणलाई त्यसले निराश बनाउँछ। अहिलेको अवस्था भनेको एकवद्ध भएर कोरोनाको कहरसँग लड्ने समय हो।

र, दोस्रो, विश्व स्वास्थ्य संगठनका प्रमूखले पनि हरेक देशमा राजनीतिक दलहरूलाई पार्टीगत स्वार्थबाट माथि उठेर ‘राष्ट्रिय एकता’ का लागि आह्वान गरेका छन्। साझा पार्टीको तर्फबाट हामीले झण्डै दुई हप्ताअघि नै प्रधानमन्त्रीको नाममा लेखिएको सुझावपत्रमा यो संकटसँग जुध्न राष्ट्रिय एकता आवश्यक भएकोले ‘उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र’को प्रस्ताव गरेका थियौँ। त्यस्तो संयन्त्रको झन, झन बढी खाँचो देखिँदै गएको छ।

प्रतिउत्तरमा प्रचण्डजीले चिन्ता व्यक्त गर्दै भन्नुभयो, “अहिले पशुपतिनाथले रक्षा गर्छन् भनेर बस्ने स्थिति छैन। उच्चस्तरीय राजनीतिक संयन्त्रको विचार मलाई राम्रो लाग्यो। वास्तवमा त्यो आवश्यक छ। म यो सुझावलाई निश्कर्षमा पुर्याउन प्रयास गर्छु।“

उहाँको प्रयासले सकारात्मक परिणाम लेराओस्! उच्चस्तरीय राजनीतिक संयन्त्र लगायत सबै मिलेर सरकारलाई सघाउनु अहिलेको राष्ट्रिय आवश्यकता हो।