अन्तर्राष्ट्रिय

ट्रम्पसँग निर्बाचन लड्ने सिनेटर बर्नी स्यान्डर्सद्वारा उम्मेदवारी त्यागेको घोषणा

२७ चैत, वासिङ्टन । सिनेटर बर्नी स्यान्डर्सले बुधबार अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारी परित्याग गरेको घोषणा गरेका छन् । स्यान्डर्सको यो घोषणासँगै अमेरिकाको आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनको उम्मेदवारी निश्चितझैं भएको छ ।

कोरोनाभाइरसको महामारीको पृष्ठभूमिमा हुने आगामी निर्वाचनमा बाइडेनको प्रतिस्पर्धा रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवारी दिने राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।

स्यान्डर्सले यसपटकको प्राइमरी चुनावका शुरुआती दिनहरुमा पनि सन् २०१६ को झैं आम मतदातामा व्यापक उत्साह जगाउने विश्वास गरिएको थियो । तर उनले प्रगतिशीलहरूको समर्थनलाई सशक्त रुपमा रूपान्तरण गर्न सकेनन् । लोकतान्त्रिक समाजवादी विचारधाराका अनुयायी स्यान्डर्सले आम मतदातालाई रिझाउन सक्ने सम्भावनामाथि चुनावी प्रचारकै क्रममा प्रश्न उठेको थियो ।

“चुनावमा विजयी हुने सम्भावना लगभग असम्भव देखियो,” स्यान्डर्सले समर्थकहरुलाई बुधबार भने । “मनोनयनमा पर्ने केही सम्भावना देखिएको भए म निश्चित रुपमा अभियानलाई जारी राख्ने थिएँ, तर अहिले त्यो सम्भव देखिएन ।”

उनले पार्टीका वरिष्ट सदस्य बाइडेनलाई “अत्यन्तै सभ्य” व्यक्ति रहेको बताए । तर उनले बाइडेनलाई स्पष्ट अनुमोदन भने गरेनन् । स्यान्डर्सले आफ्नो नाम चुनाव हुन बाँकी रहेका राज्यका मतपत्रमा अझै रहने बताए । बाँकी राज्यको चुनावबाट आफूले केही प्रतिनिधि प्राप्त गर्न सक्ने र त्यसबाट डेमोक्र्याटिक पार्टीको मञ्चमा “महत्वपूर्ण प्रभाव” सिर्जना गर्न सकिने बताए ।

पार्टीका धेरैजसो वरिष्ट सदस्यले समर्थन गरेका बाइडेनले बुधबार स्यान्डर्ससँग छोटो कुराकानी गरेको जानकारी दिए । बाइडेनले भने, “स्यान्डर्सले राजनीतिक अभियान मात्र चलाउनु भएन । उहाँले एउटा आन्दोलन नै सिर्जना गर्नुभयो । यो हाम्रो राष्ट्र र हाम्रो भविष्यको लागि राम्रो चीज हो । उहाँको अभियान समाप्त भएको छ, तर मलाई थाहा छ कि उहाँको नेतृत्व जारी रहनेछ ।”

ट्रम्पले बुधवार ट्वीट गरेर डेमोक्र्याट पार्टीभित्रको तनाब छताछुल्ला भएको टिप्पणी गरेका थिए । पार्टीले सिनेटर स्यान्डर्सका बिरूद्ध दौड नै खडा गरेको ट्रम्पले आरोप लगाए । राष्ट्रपति ट्रम्पले सिनेटर स्यान्डर्सका समर्थकहरु “रिपब्लिकन पार्टीमा आउनु उपयुक्त” हुने सुझाव दिए ।

स्यान्डर्सले यसपटकको ह्वाइट हाउसको अभियानका क्रममा चार वर्षअघि हिलारी क्लिन्टनको विद्रोही विकल्पका रूपमा झैं समर्थन जुटाउन सक्नेमा शुरुमै आशंका गरिएको थियो । उनीमाथि आम मतदाताले शुरुदेखि नै प्रश्नहरु गरिरहेका थिए । सन् २०१६ मा २२ वटा राज्यमा विजयी स्यान्डर्स यसपटक डेमोक्र्याटिक पार्टीबाट छनौट हुने निश्चित थिएन ।

तर स्यान्डर्सले शसक्त चुनावी अभियान र रकमको बलियो समर्थन प्राप्त गरेका थिए । उनले सबैजसो चुनावी चन्दालाई अनलाइनबाट सार्वजनिक गरेका थिए । पहिलो पटकजस्तै उनले यस चुनावी अभियानमा युवा मतदाताका साथै हिस्पानिक समुदायको समर्थन प्राप्त गरेका थिए । तर अफ्रिकी अमेरिकीहरूसँग उनको अपील कमजोर देखिएको थियो ।

स्यान्डर्सले पहिलो चरणमा चुनाव भएका आयोवा र न्यु ह्याम्पशायर राज्यमा सबैभन्दा बढी मत प्राप्त गर्नु भएको थियो भने नेभाडामा सहजै जित हासिल गरे । प्रारम्भिक चुनावमा प्राप्त गरेको यो सफलता धेरै टिक्न सकेन ।

तर बाइडेनले दक्षिणी क्यारोलिना राज्यका प्रभावशाली पार्टी नेता जिम क्लाइबर्नको समर्थन प्राप्त गरे । उनले यस राज्यमा सोचेभन्दा बढी मत पाएर चुनाव जिते । उता सुपर ट्युज्डे भनिने मतदानमा १४ मध्ये १० राज्यमा विजयी हासिल गरेर चुनावी दौडमा व्यापक अग्रता हासिल गरे ।

उक्त चुनावको केही दिनभित्रै बाइडेनका पूर्व डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरूले उनको पक्षमा समर्थन जनाए ।

एकपछि अर्को चुनावी दौडमा पराजित हुनेक्रममा सन् २०१६ मा हिलारी क्लिन्टनलाई पराजित गरेका स्यान्डर्स मिसिगन राज्यमा पराजित भए । यसबाट उनको अवस्था झन झनै खराब भयो । त्यसैरात उनले मिजौरी, मिसिसिपी र इडाहोमा पनि हार व्यहोर्नु परेको थियो ।

कोरोनाभाइरसको प्रकोपले चुनावी अभियान लगभग स्थगित भए जसका कारण स्यान्डर्सलाई ठूला सभाहरु गर्न समस्या देखियो । उनको शक्ति नै सभाहरुमा जोडदार रुपमा प्रस्तुत भएर जनताको समर्थन प्राप्त गर्थे ।

अग्रणी प्रगतिशील धारको नेतृत्व गर्ने स्यान्डर्सको चुनावी अभियान समाप्त गर्ने घोषणासँगै बाइडेनले बुधबार नै स्यान्डर्सका समर्थकहरुलाई एकताबद्ध भएर चुनावी प्रचारमा लाग्न अनुरोध गरे ।

“मलाई आशा छ तपाईंहरु हाम्रो यस अभियानमा सहभागी हुनुहुनेछ,” उनले एक वक्तव्यमा भने । “तपाईहरुलाई हार्दिक स्वागत छ । तपाइँको यहाँ अति जरुरी छ ।”

तर स्यान्डर्सले आफू चुनावी अभियानबाट अलग भएपनि आफू अझै पनि एक शक्तिका रुपमा रहिरहने स्पष्ट गरे ।

“कृपया यस लडाइँमा तपाइँहरु मेरो साथमै रहनुहोला,” उनले भने, “हाम्रो सङ्घर्ष जारी छ ।”