प्रवास

अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न अध्यक्ष कोईरालाको निर्देशन

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीको वस्तुस्थिति बुझी सहयोग गर्न त्यहाँस्थित फाउण्डेशनको शाखालाई निर्देशन दिएकी छन् ।
अध्यक्ष कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष नील थपलिया र ओसियानाका अध्यक्ष रमेश छत्कुलीलाई टेलिफोन गरी कोरोना भाइरस फैलिरहेकाले आपतविपत् परेका नेपालीलाई फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्न निर्देशन दिएको फाउण्डेशनको सचिवालयद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पूर्वपरराष्ट्रमन्त्री कोइरालाले भनेकी छन्, “कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको छ, त्यहाँ नेपालीहरु धेरै छन्, कोरोनाकै कारण कसैलाई समस्या प¥र्यो भने जिपी कोइराला फाउण्डेशनका तर्फबाट सक्दो सहयोग गर्नुहोला ।” फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष थपलियाले अष्ट्रेलियामा रहेका नेपालीलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशन ओसियानाका अध्यक्ष छत्कुलीले पनि समस्यामा परेका नेपालीलाई सहयोग गर्ने पहल भइरहेको जानकारी गराउनुभएको विज्ञप्तिमा उल्लेख छ ।