लुम्बिनी

लकडाउनमा सीप सिक्दै महिला

तानसेन । पाल्पा, रामपुर नगरपालिका महिला यतिबेला लकडाउनको समय सिर्जनशील बनी सदुपयोग गरिरहेका छन् । कोभिड– १९ को संक्रमण फैलिन नदिन घरमै बसेर सिलाइबुनाइका काम गर्ने तिनको दिनचर्या नै बनेको छ । विभिन्न रङ्गीन कागज, धागो तथा खाली प्लाष्टिकका सिसीलाई प्रयोग गर्दै गमला र झुल्लर बनाउने, स्वीटर, कुसन, चकटी र डोरमेट, रुमाल र मास्क बुन्ने, चुरामा बुट्टा भर्ने तथा सिलाइकटाइका कामसमेत उनीहरु गर्छन् ।

नगरपालिका ५ की विन्दु श्रेष्ठ अहिले स्विटर र आउटर बुनेर आफूले समय बिताउने गरेको बताउछिन । उनी लकडाउनका बेला आफू सुरक्षित बन्दै घरमै बसेर बुनाइको काम गर्र्दछिन । यससँगै घरका छतमा तरकारी रोप्ने तथा विभिन्न थरिका अचार बनाउने काम उनि गर्दछिन् ।

उनी जस्ता करीब १५ महिला यतिबेला यस क्षेत्रमा यस्तै सीप आफैंँ सिक्ने तथा आफूले सिकेको सीप विकास गर्नमा व्यस्त छन् । रामपुरकै मनकुमारी थापा मश्राङ्गी इन्टरनेटको माध्यमबाटै सीप सिकेर विभिन्नथरि पुतली बनाउछिन् । मोबाइलमा नचाहिने कुरा हेर्ने र खाली समय सुतेर बिताउनुभन्दा घरमा गुडिया बनाउने तथा झुल्लरलगायत सामग्री तयार गरेर कोठा सजाउने गरेको मश्राङ्गीको भनाइ छ ।

उनी घरकै करीब एक रोपनी जग्गामा नियमित मौसमी तथा बेमौसमी तरकारीसमेत उत्पादन गरी बिक्री गर्र्दछिन् । महिलाहरु आफूले सिकेको सीपलाई विकास गर्न सके बजारमा माग हुने सामानको परिपूर्ति गर्न सहज हुने बताउँछन् । आफूले खाली समयमा यस्ता सीप सिकेमा महामारी र विपत्तिको अवस्था हटेपछि बजारमा बिक्री गर्न सकिने तिनको भनाइ छ ।नगरपालिकाका धेरै महिलाले मुडा बुन्ने तथा ढाकाको कपडाबाट थैली, झोला, पछ्यौरालगायत सामानसमेत बनाउने गरेका छन् । यसरी बुनेका सामग्री आफन्तलाई चिनोका रुपमा पनि दिइन्छ । उनीहरु अर्डर अनुसार पनि यस्ता सामग्री बनाउँछन् ।

सामूहिक रुपमा काम गर्न नहुने हुँदा घरको कोठामै बसेर काम गर्दा पनि सहज नै भएको महिलाको अनुभव छ । आजभोलि बालबालिका टेलिभिजन तथा मोबाइलमा भुल्ने हुँदा उनीहरुमा कोरोनाको बारेमा सचेतना बढाउँदै इन्टरनेटका माध्यमबाट कागजका सामग्री बनाउन उत्प्रेरित गर्न सके झन् राम्रो हुनेछ । रामपुरकै विद्यालयकी शिक्षिका लक्ष्मी थापा खेर गएका कागज, झोला तथा कागजलाई मिलाएर गमला, फूललगायत सुन्दर आकृति तयार गर्न छोराछोरीलाई सिकाई दिन बिताउने गरेको बताउछिन् । यसो गर्दा विद्यालय जान नपाए पनि घरमै सीपको विकास हुने र जतिबेला पनि सुन्ने र हेर्ने गरिएका नकारात्मक कुरा उनीहरुको मानसिकताबाट हट्ने उनले बताईन ।

बेला बेलाका तालीममा सिकेका सीपबाट तयार गरिएका सामग्री पछि बजारमा बिक्री गर्न समेत सकिने हुँदा महिलाको दिनचर्या नै यसमै बितेको छ । समूहमा बस्दा कोरोनाको संक्रमण फैलिन सक्ने कुरालाई ध्यानमा राखी एक्लै घरमै सीप प्रयोग गर्दा धेरै सामग्री तयार हुने गरेको महिलाको अनुभव छ ।