पु.समाचार

दुई दिनमा बेलायतमा कोरोना संक्रमणको कारण गयो तीन नेपालीको ज्यान

काठमाडौं । चीनको उहानबाट फैलिएको कोरोना माहामारीले विश्वभरी नै उग्र रुप लिएको छ । कोरोना संक्रमणका कारण नेपालमा कोहि नेपालीको मृत्यु नभएको भएपनि बाहिरी मुलुकमा हुने नेपालीहरुको ज्यान लिईरहेको छ । उता बेलाएतमा कोरोनाले थप तीन जना नेपालीको ज्यान लिएको छ । मृत्यु हुनेहरुमध्य दुई जनाको बुधबार र एक जनाको मंगलबार मृत्यु भएको बताईएको छ ।

लण्डनको ह्यारोमा बस्दै आएका ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको मंगलबार लण्डनस्थित नर्थविकपार्क अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतकाअनुसार रुघाखोकी, ज्वरो लगायतका लक्षण देखिएर केहि दिन घरमै आइसोलेसनमा बसेका उनी १ साताअघि अस्पताल भर्ना भएका थिए । मधुमेहका रोगीसमेत रहेका उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।

पर्वत पैंयू स्थायी घर भएका गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका थिए । मंगलबार गुरुङको निधन भएकै नर्थविक अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ । नातीको बिहेका लागि केहि महिनाअघि बेलायत आएका अन्दाजी ७७ वर्षका मृतक कोरोना महामारीकै कारण नेपाल फर्किन नपाएर लण्डनमै रोकिएका थिए । उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपनि परिवारले विवरण गोप्य राख्न चाहेको उनका आफन्तले बताएका छन् । नेपालबाटै सँगै आएकी मृतककी पत्नीसमेत अहिले लण्डनमै छिन् ।

बुधबार नै बेलायतको नटिङहममा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा शिव श्रेष्ठको पनि निधन भएको छ । करिब १ साताअघिदेखि आइसोलेसनमा बस्दै आएका श्रेष्ठ श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए ।

बुधबार दिउँसो अस्पतालमै मृत्यु भएका उनलाई ह्दयघातकोसमेत आशंका गरिएको छ । सोलुखुम्बु घर भएका श्रेष्ठका श्रीमती र दुई छोरासहित बेलायतमा बस्दै आएका थिए । यो संगै कोरोनाका काराण् बेलायतमा ५ नेपालीको मृत्यु भएको छ । यसअघि ६६ वर्षीय पूर्व गोर्खा लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको पनि दुई साताअघि लण्डनमै कोरोनकै कारण मृत्यु भएको छ ।